भेरीगंगाको प्रशासनिक भवन समय अगावै निर्माण
सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित्र भवन निर्माणका सक्नेगरी भेरीगंगा नगरपालिका र इन्द्रधनु अछाम निर्माण सेवा टिकापुरबीच २०८० वैशाख १० गते सम्झौता भएको थियो । निर्माण कम्पनीले भने करिब पाँच महिनाअघि नै काम सम्पन्न गरी भवन हस्तान्तरण गरेको हो ।
छिञ्चुमा नव निर्मित भवनको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले उद्घाटन गरेका छन् । भवन उद्घाटनका क्रममा मुख्यमन्त्री कंडेलले भवन आश्यक भएपनि त्यसभन्दा महत्त्वपूर्ण सेवा प्रवाह गर्ने तरिका हुने भन्दै सहज र सरल रुपमा सेवा प्रवाह गर्न सुझाव दिए । मुख्यमन्त्री कंडेलले नागरिकले सहज रुपमा प्रभावकारी सेवा खोजेको स्मरण गराउँदै नागरिकको नजिकको सरकारको रुपमा रहेका स्थानीय तहले त्यसमा ध्यान दिनुपर्ने बताए ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले सीमित स्रोत साधन भएपनि त्यसबाट बन्ने योजना समयमै कार्यान्वयन हुनसके सकारात्मक प्रभाव पर्ने बताए । सरकार एक्लैले मुलुकको समृद्धि सम्भव नभएको भन्दै मन्त्री शाहले समयमै निर्माण सम्पन्न गर्न अन्य निर्माण व्यवसायीलाई पनि आग्रह गरे ।
प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले विगतको भन्दा विकास र निर्माणका हिसाबले परिवर्तन भएपनि नागरिकमा रहेको तीव्र परिणामको चाहना पूरा गर्न सबै तहका सरकारले हातेमालो गरेर काम गर्न आवश्यक रहेको बताए ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले नयाँ भवन निर्माणसँगै एकीकृत सेवा प्रवाहमा सहज भएको बताए । विगतमा भवनको अभावमा ठाउँ ठाउँबाट सेवा दिँदै आएकोमा अब नयाँ भवनबाट व्यवस्थित रुपमा सेवा प्रवाह गरिने नगर प्रमुख ढकालले बताए । आगामी दिनमा भवनजस्तै राम्रो मुस्कानसहितको सेवा दिने पनि उनको भनाइ छ ।
भवन निर्माणका लागि नगरपालिकाले भ्याटसहित १० करोड ३२ लाख ८२ हजारमा बोलपोत्र आह्वान गरेकामा ६ करोड ५२ लाख ८५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तीन तलाको भवनमा २६ वटा कोठा रहेका छन् । भवनभित्र दुई वटा सभाहल रहेका छन् । भवनमा आगलागी भएमा त्यसको सूचना दिने तथा अग्नि नियन्त्रक यन्त्र जडान गरिएको छ ।
नयाँ प्रशासकीय भवनसँगै नागरिक सहयता कक्ष, स्वास्थ्य सहयता कक्ष पनि सञ्चालनमा ल्याइएको छ । भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट ३ करोड र भेरीगंगा नगरपालिकाको आफ्नै सहलगानी ३ करोड ५२ लाख ८५ हजार रहेको छ ।