कोल्टीको दानसाँघु खोलामा बेलिब्रिज राखिने
बाजुरा– बूढीगंगा नदिमा तीन वर्षदेखि थन्किएको बेलिब्रिज जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको बूढीनन्दा नगरपालिकाको दानसाँघु (कोल्टीखोला) मा सार्ने तयारी भएको छ । यसै वर्षभित्र दानसाँघु खोलामा सार्ने गरी प्रकृया अगाडि बढाइएको हो ।
बूढीगंगा नदीमा पक्किपुल निर्माण भएपछि प्रयोगविहीन भएको बेलिब्रिज दानसाघु खोलामा सार्नका लागि सर्भेको काम सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय अछामका प्रमुख इन्जिनियर नेत्र देवकोटाले बताए । दानसाँघु खोलामा गरिएको सर्भे र लागत इस्टमेटअनुसार बजेट व्यवस्थापन भए यसै वर्षभित्र त्यहाँ सार्न सकिने इन्जिनियर देवकोटाले बताए ।
सो बेलिब्रिज सार्न करिब दुई करोड बजेटको आवश्यकता पर्ने भएकाले बजेटको सुनिश्चतताका लागि समेत पहल भएको उनले बताए । बेलिब्रिज सार्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले २५ लाख बजेट ब्यवस्थापन गर्ने भनिए पनि अन्य बजेटको सुनिश्चत नभएको इन्जिनियर देवकोटाले बताए ।
मार्तडीदेखि कोल्टी सडक सुचारु भएको झण्डै २५ वर्ष भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा त्यहाँ चल्ले सवारी साधनलाई बर्खाको समयमा वारपार गर्न सास्ती खेप्दै आउनुपरेको छ । सडक डिभिजन कार्यालय अछामले बडिमालिका नगरपालिकाको जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी दानसाँघु खोलामा बेलिब्रिज पुलको सर्भे गरिएको बूढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले बताए ।
हिउँदको महिनामा चिसोले खोला तर्न नसकिने र बर्खाको समय पानीको बहाव बढ्दै जाने गरेकाले यहाँ सवारी साधनलाई खोला वारपार गर्न समस्या हुँदै आएकोमा अब बेलिब्रिज निर्माण भयो भने सहज हुने नगर प्रमुख बोहराले बताए । दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण भएपछि बूढीनन्दा नगरपालिकाको कोल्टी, हिमाली, जगनाथ र स्वामिकार्तिकका खापर गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाई समेत सहज हुने नगरप्रमुख बोहराले बताए ।
हिउँदको समयमा नियमित कोल्टीसम्म यातायात सञ्चालन भए पनि वर्षातका चार महिना दानसाँगु खोलामा पुल नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । ‘दानसाँघु खोलामा बेलिब्रिज जडानका लागि सर्भेको काम सम्पन्न भएको छ,’ नगरप्रमुख बोहराले भने, ‘यो वर्षभित्र जडान गर्नेगरी काम अगाडि बढाउने योजना छ ।’
२०७७ सालको बाढीका कारण बेलिब्रिज बगाएपछि फेरि अर्को बेलिब्रिज जडान गरिएको थियो । बूढीगंगा नदीमा पक्की पुल निर्माण भएपछि बेलिब्रिज प्रयोगविहीन बनेको छ । दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण सम्पन्न भएपछि पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तह र छिमेकी कर्णाली प्रदेशका मुगु र हुम्लाका नागरिकलाई समेत सहज हुनेछ ।