Logo

नेपाल निप्पोन चेम्बर अफ कमर्स स्थापना

काठमाडौं– नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज’को स्थापना गरिएको छ ।

सामाजिक सेवामूलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यावसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । यसका साथै संस्थाले व्यापार, कृषि, उद्योग र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्‍याउने लक्ष्य रहेको बताएको छ ।

संस्थाको प्रथम वार्षिक साधारणसभामा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष साथै सञ्चालक सदस्यहरुको उपस्थिति थियो । निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज कार्यालयको उद्घाटन जापानी दूतावासका मिसन उप–प्रमुख तमुरा ताकाहिरोले गरेका थिए । यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको बताइएको छ ।

संस्थाको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार रुपैयाँ शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन्, तर सदस्यता हस्तान्तरण गर्न भने सकिने छैन । संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्वस्वीकृति लिने जनाएको छ ।

यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–२७ मा रहेको बताएको छ । चेम्बरको कोष सदस्यता शुल्क, अनुदान तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिनेछ । कुनै संशोधन आवश्यक परेमा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिने व्यवस्था रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्