१६ दिने अभियानका लागि एनसेल फाउन्डेसनको सहकार्य
काठमाडौं– विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले महिलाविरुद्धको हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे ।
कार्यक्रमको जोन्टाका अध्यक्ष बिना रानाले गरेकी थिइन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् । युनिसेफ नेपालकी डेप्यूटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत, र एसडीजी स्टुडियोले ‘शिरमै फुर्के रिबन’ शीर्षकको संगीत भिडियो सार्वजनिक गरे । यो भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन युएनएफपीए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन् ।
नेपालमा बालविवाह अझै पनि लैंगिक समानता र महिला तथा किशोरीहरूको सशक्तिकरणका लागि प्रमुख चुनौती बनेको छ । तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले गर्दा उनीहरुको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्छ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले भने, ‘बालविवाह मानव अधिकारको उल्लंघन हो र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक छ ।’