सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित
काठमाडौं– सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेकी हुन् ।
सम्मानका क्रममा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिँदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरिन् । सो कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदिन कार्यालयको तर्फबाट अनुरोध गर्दै कर शिक्षा, वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो ।
सिटी एक्सप्रेसका अध्यक्ष टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तव्य पनि भएको बताए । मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस रेमिट्यान्स कम्पनीमध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो । आर्थिक वर्ष २०७९/०८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।