प्रदेश–३ को नाम बागमती हुने, स्थायी राजधानी हेटौंडा

हेटौंडा-प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने निश्चित भएको छ । प्रदेशको नाम भने बागमती राखिनेछ । प्रदेशमा दुईतिहाई मत रहेकोे नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाएको हो ।
सचिवालयको निर्णय पार्टी प्रदेश समिति हुँदै प्रदेश संसदीय दलमा सिफारिस हुनेछ । स्थायी राजधानी र नामाकरणको अधिकार प्रदेशसभाकै अधिकार क्षेत्रभित्र रहेता पनि सो विषयमा नेकपाभित्रै मत विभाजन भइरहेपछि नेकपाको आइतबार बसेको सचिवालय बैठकले नाम र राजधानी निक्र्यौल गरी प्रदेशसभाबाट पारित गर्न सिफारिस गर्ने निर्णय गरेको हो । स्थायी राजधानी र नामाकरणको बारेमा नेकपाकै सांसदहरू विभाजित थिए । स्थायी राजधानीको लागि प्रदेशसभामा विभिन्न पाँच वटा जिल्लाको प्रस्ताव परेता पनि हेटौंडा वा काभ्रे राख्ने भन्नेमा मत विभाजन भइरहेको थियो ।
स्थायी राजधानी र नामाकरणबारे प्रदेशसभामा सांसदहरूले पटक पटक आवाज उठाइरहे पनि नेकपाभित्रै विवाद भइरहँदा अन्योल रहेको थियो । प्रदेशसभामा प्रदेशको नाम नेवा ताम्सालिङ, गौरीशंकर, नेपाल मण्डल र पशुपति राख्नुपर्ने भन्दै प्रस्ताव परेको थियो । पार्टी सचिवालय बैठकले नै निर्णय गरी स्थायी राजधानी र नामाकरणबारे निर्णय गरी सिफारिस गरेपछि प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले खुसी व्यक्त गरेका छन् । पार्टीको सचिवालय बैठकले गरेको निर्णय सकारात्मक भएको भन्दै सो निर्णयलाई पार्टीको प्रदेश समिति हुँदै प्रदेशसभा सदस्यले पनि कार्यान्वयन गर्ने मुख्यमन्त्री पौडेलले बताए ।
“हामीले लामो समयको प्रयासपछि स्थायी राजधानी र नामाकरणको विषय टुङ्ग्याएका छौं । अब प्रदेशसभाबाट औपचारिक घोषणा हुन मात्र बाँकी हो । अब प्रदेशको संरचना निर्माणलाई तीव्रता दिनुका साथै कर्मचारी व्यवस्थापनमा हाम्रो ध्यान जानेछ,” उनले भने । हेटौंडा नै स्थायी निवासी भएका कारण मुख्यमन्त्री पौडेलले हेटौंडालाई नै स्थायी राजधानी बनाउन लागिपरेका थिए । मुख्मयन्त्रीले राजधानी टुङ्ग्याउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग यसअघि पटकपटक आन्तरिक भेटघाट गरेका थिए । प्रदेशका मन्त्रीहरूले राजधानीको विषयमा आआफ्नो मत राख्दै हिँडेपछि राजधानीको बारेमा सार्वजनिक कार्यक्रममा नबोल्नसमेत निर्देशन दिएका थिए ।
पार्टीले राजधानी र नामाकरणको विषय टुङ्गो लगाए पनि कतिपय मन्त्री र सांसदहरूले भने चित्त बुझाएका छैनन् । प्रदेशसभाकै जिम्मेवारी र कार्यक्षेत्रभित्र पर्ने विषयमा पार्टीले अनावश्यक हस्तक्षेप गरेको एक मन्त्रीले नाम नबताउने सर्तमा बताए । प्रदेशसभामा रहेको कुल एकसय दश सांसदमध्ये नेकपाको ८० मत रहेको छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । स्थायी राजधानीको लागि मतदान भए दुइतिहाई अर्थात ७४ मत मात्रै भए पुग्छ ।
प्रदेशसभाले स्थायी राजधानी टुङ्गो लगाउनेबारे पटकपटक प्रयास गरेता पनि सफल भने हुन सकेको थिएन । २०७५ साल वैशाख १४ प्रदेशसभाको बैठकले दीपक निरौलाको संयोजकत्वमा दश सदस्यीय स्थायी राजधानी र नामाकरणका लागि विशेष समिति गठन गरेको थियो । समितिले २०७५ असार २६ गते प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले २०७५ असार २६ गते प्रदेशसभामा पेश गरेका थिए । समितिको प्रतिवेदनअनुसार २०७६ वैशाख ३१ गते सभामुख श्रेष्ठले प्रदेशसभामा स्थायी राजधानी र नामाकरण टुंग्याउन कार्यविधि नै पेश गरेका थिए ।
प्रदेशको राजधानी प्रस्तावित ५ वटा जिल्लामाथि वर्णानुक्रमअनुसार मतदान गरिने र उक्त मतदानको मिति सभामुखले तय गर्ने उक्त कार्यविधिमा उल्लेख भएता पनि सभामुखले हालसम्म राजधानीको विषयमा अन्य प्रस्ताव प्रदेशसभामा पेश गरेका छैनन् । सम्भावित राजधानीको सूचीमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्ला रहेका थिए ।
२०७४ माघ १८ गते पहिलो प्रदेशसभाको बैठक बसेको प्रदेश नम्बर ३ ले प्रदेशसभामा हालसम्म चार वटा अधिवेशन सकिएको छ । हालसम्म एक सय २७ वटा बैठक बसी ४५ वटा विधेयक पास गरिसकेको छ । गत भदौ २५ गते वर्षे अधिवेशन सकिएसँगै स्थगित भएको प्रदेशसभाको अर्को बैठक हालसम्म बस्न सकेको छैन ।
कांग्रेसद्वारा स्वागत
प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउने नेकपाको सचिवालय बैठकको निर्णयको नेपाली कांग्रेसले स्वागत गरेको छ । प्रदेश ३ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता ईन्द्रबहादुर बानिया“ले ढिलै भए पनि उपयुक्त निर्णय गरिएको भन्दै धन्यवाद ज्ञापन गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले भौगोलिक, रणनीतिक, संरचनागत हिसाबले हेटौंडालाई राजधानी तोकेको दाबी गर्दै नेता बानियाँले नेकपाले कांग्रेस सरकारकै निर्णयलाई पूर्णता दिएको भन्दै आभार व्यक्त गरे । “कांग्रेसले दुई वर्षअघि जुन निर्णय ग¥यो, त्यो सही थियो । सबै हिसाबले हेटौंडा नै उपयुक्त हो भनेर हामीले पहिलेदेखि नै लबिङ गरिरहेकै थियौं । अहिले नेकपाले पनि सोही निर्णयलाई सदर गरेकोमा हामी खुसी छौं,” नेता बानियाँले भने । प्रदेश राजधानी र नामाकरण छिट्टो टुङ्ग्याउन माग गर्दै नेपाली कांग्रेसले पटकपटक दबाब दि“दै आएको थियो । यसअघि दुईपटकसम्म संसदको बैठकसमेत अवरुद्ध गरेको थियो ।
यसैबीच प्रदेशसभाको बैठक तत्काल बोलाउने विषयमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानिया“बीच आइतबार छलफल भएको छ । तत्काल प्रदेशसभाको बैठक बोलाएर राजधानी र नामाकरणबारे टुङ्गो लगाउनेबारे पौडेल र बानियाँबीच छलफल भएको हो । दुई नेताले संसदीय दलभित्र छलफल गरी प्रदेशसभाको मिति तोक्ने बताएका छन् ।
नेकपाबाट विजयी प्रदेश सभाका केही सांसदहरूले भने पार्टीको निर्देशनको विरोध गरेका छन् । सासदहरू रत्न ढकाल, चन्द्र लामा र हुमागाइले विरोध गरेका हुन् । उनीहरूले पार्टीको निर्देशन सबै ठाउँमा नचल्ने बताएका हुन् ।