४० वर्षमा झण्डै साढे २५ अर्ब कर तिर्यो नबिलले
काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूको भीडमा छुट्टै पहिचान बोकेको बैंक हो नबिल बैंक । नबिल बैंक हरेक हिसाबले अन्य बैंक तथा वित्तीय संस्थाभन्दा अब्बल यात्रा तय गर्दै आएको छ । पछिल्लो समय राज्यलाई हरेक किसिमको योगदान दिन नबिल बैंक प्रयास गर्दै आएको छ । जसकारण राज्यलाई सबैभन्दा बढी राजस्वमा योगदान गर्ने बैंकको रुपमा समेत नबिल बैंकले आफ्नो पहिचान बनाएको छ ।
नबिल बैंक एक्लै ८ वर्ष सर्वाधिक कर तिर्ने बैंकको रुपमा पहिचान बनाएको हो । स्थापनाकालदेखि हालसम्म यस बैंकले २५ अर्ब ३५ करोड ९१ लाख ८१ हजार रुपैयाँ कर तिरेको छ । यसबीचका विभिन्न ८ वर्षमा बैंकले अन्य बैंकको तुलनामा सर्वाधिक कर तिरेको हो । नबिल बैंकले सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा समेत आफ्नो कीर्तिमानी कायम गर्दै लगेको छ ।
बैंकले विभिन्न ८ आर्थिक वर्षमा सर्वाधिक कर तिर्ने बैंकको रुपमा सम्मान पाइसकेको छ । यस वर्ष पनि सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रुपमा धेरै कर बुझाउने करदातालाई सम्मान गर्दै आएको नबिललाई बैंक तथा वित्तीय संस्था र बीमा कारोबार क्षेत्रतर्फ अहिलेसम्म आठौं पटक यो सम्मान बैंकले पाइसकेको छ । नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थासहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मानित गर्दै आएको छ ।
यसअघि आर्थिक वर्ष २०६७/०६८, २०७०/०७१, २०७१/०७२, २०७३/०७४, २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो । बैंकले आव २०६७/०६८ मा ५६ करोड ८५ लाख ८ हजार रुपैयाँ कर तिर्दै सबैभन्दा बढी कर तिर्नेको पहिलो नम्बरमा परेको थियो । त्यसपछि आव २०७०/०७१ मा सबैभन्दा बढी ९८ करोड ६ लाख ८४ हजार रुपैयाँ कर तिरेकोमा आव २०७१/०७२ मा ८९ करोड ६८ लाख ७८ हजार रुपैयाँ कर तिरेको थियो ।
त्यसपछि आव २०७३/०७४ मा १ अर्ब ५३ करोड ७७ लाख ६२ हजार रुपैयाँ कर तिरेकोमा आव २०७५/०७६ मा १ अर्ब ८१ करोड १ लाख ७४ हजार रुपैयाँ कर तिरेको थियो । यस्तै आव २०७६/०७७ मा १ अर्ब ५५ करोड ११ लाख २१ हजार रुपैयाँ कर तिरेको नबिल बैंकले आव २०७७/०७८ मा २ अर्ब २५ करोड ८५ लाख ५३ हजार रुपैयाँ कर तिरेको थियो ।
यस्तै २०७९/०८० मा नबिल बैंकले २ अर्ब ८० करोड ३० लाख ८३ हजार रुपैयाँ कर तिरेको छ । नबिल बैंक ब्राण्डमा सबैभन्दा अगाडि रहेको ब्राण्ड हो । साथै यसले ग्राहकको सुविधाका लागि कुनै कसर बाँकी नराख्नेगरी काम गर्दै आएको बैंकका डेपुटी सिईओ मनोज ज्ञवाली बताउँछन् । साथै सबै निकाय तथा सरोकारवालाको नजरमा उत्कृष्ट रहने गरी नबिल बैंकले काम गर्दा राज्यलाई करको माध्यमबाट पनि सबैभन्दा धेरै योगदान दिन पाइएको ज्ञवाली बताउँछन् ।
उनले भने, ‘हामी कर्मचारीको हकमा पनि सबैभन्दा बढी सेवा सुविधा दिने बैंकको रुपमा स्थापित छौँ । कस्टोमर केयरमा पनि अगाडि नै भएको हाम्रो दाबी हुन्छ ।’ नबिलले विगतदेखि नै दीगो बैंकिङको अवधारणामा काम गर्दै आएको र सबै पक्षलाई समेटेर अगाडि बढ्दै गर्दा यो योगदान सम्भव भएको उनले बताए । नबिल बैंकले उत्तरदायी अभ्यास समेत गर्दै आएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनको विषयलाई आत्मसात गर्दै यस क्षेत्रमा नबिलले लगानी गर्न थालेको छ । बैंकले मुख्य लगानीलाई दिगो विकास र वातावरणसँग जोड्न थालेको छ । नबिल बैंकले एक महिना अघिमात्रै दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डमा मेरिट अवार्ड पाएको थियो । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा) ले श्रीलंकामा आयोजना गरेको कार्यक्रममा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।
दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/०२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको थियो । ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई सफलता दिलाइरहेको छ,’ ज्ञवालीले भने ।