गुमनाम आगेजुङ गुम्बा

पाँचथरको सदरमुकामबाट करिब ३४ किमिको दूरीमा रहेको आगेजुङ गुम्बाका बारेमा पाँचथरवासीलाई मात्रै होइन, फिदिममै रहने धेरैलाई यसको खासै जानकारी छौन । बत्तीमुनिको अँध्यारो भने झैं सदरमुकाम फिदिमको नजिक रहेर पनि पूर्वी क्षेत्रको सबैभन्दा पुरानो मानिएको आगेजुङ गुम्बा गुमनाम छ ।
कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल हिमशृङ्खलादेखि तराईका समथर भूभाग देखिने आगेजुङ क्षेत्र प्रचारको अभावमा ओझेलमा परेको हो । वि.सं २०१५ सालमा लामा दोर्जे लाङ्ठोलले स्थापना गरेको यो गुम्बामा २०१८ सालबाट औपचारिक रूपमा लामा शिक्षा पढाइ हुन्थ्यो । त्यहाँबाट धेरै लामा गुरु उत्पादनसमेत हुँदै आएका छन् ।
व्यक्तिगत लगानीबाट सुरु भएको यो गुम्बाको संरक्षणका बारेमा सरकारले खासै चासो दिएको छैन । पछिल्लो समयमा सरकारी सहयोग सुरु भए पनि त्यो पर्याप्त नरहेको शेर्पा बताउँछन् । हाल गुम्बा संरक्षण समिति गठन गरी समिति मातहतबाट गुम्बा सञ्चालन हुँदै आएको छ । भक्तजन र दाताको सहयोगबाटै सञ्चालित यो गुम्बाको संरक्षणमा राज्यले उचित ध्यान नदिँदा संकटमा परेको हो । फालेलुङ गाउँपालिका–१ मा अवस्थित यो गुम्बा फालेलुङ, याङवरक र हिलिहाङ गाँउपालिकाको संगम स्थलमा पर्छ । करिब ३५ रोपनी क्षेत्रमा फैलिएको गुम्बा परिसरसम्म हिलिहाङ गाउँपालिकाले बाटोको ट्र्याक खोली दिएपछि गुम्बामा आउनेहरूलाई केही राहत मिलेको शेर्पाको भनाइ छ । आगामी वर्ष सडकलाई गोपेटारसम्म जोडिदिने वचन पाएको शेर्पा बताउँछन् ।
बौद्ध धर्मावलम्बीहरूको विशेष चाडपर्वमा यस गुम्बामा देश विदेशका हजारौँ लामा तथा श्रद्धालु जम्मा हुने गरेका छन् । आगन्तुकहरूका लागि उचित ब्यवस्थापनका साथै खानपानीको चरम अभाव छ ।
भौगोलिक हिसाबमा समेत यो गुम्बा निकै सुन्दर ठाउँमा छ । यो गुम्बा रहेको आगेजुङ बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक स्थलसमेत हो । पर्यटकीय सम्भाव्यता बोकेको गुम्बालाई संरक्षण गर्न सके यस क्षेत्रमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने स्थानीको भनाइ छ । जोरपोखरीबाट करिब १ घण्टाको पैदल दूरीमा पुग्न सकिने यो स्थानबाट कुम्भकर्ण, कञ्चनजंघा, पाथीभरा, चिवाभञ्ज्याङ, फालेलुङ र फालौट क्षेत्र र समथर तराईको दृश्यावलोकन गर्न सकिन्छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरूका लागि आगेजुङको प्राचीन, ऐतिहासिक र धार्मिक महत्व रहेको जानकारहरू बताउँछन् । अहिले पनि हिन्दु र बौद्ध धर्मावलम्बीहरूको उपस्थिति बढी देखिने गरेको छ ।
आगेजुङ गुम्बाबाट हजारौं लामा बौद्ध धर्म र दर्शनको शिक्षा लिएका थिए । यो गुम्बाको स्थापना गरेका लाङ्ठोलको २०४९ सालमा देवाहसान भएपछि उनका छोरा लामा तेन्जिङ शेर्पाले दैनिक पूजा पाठ गर्दै आएका छन् । ०१८ सालबाट लामा उत्पादन गर्दै आएको गुम्बामा द्वन्द्वकालपछि लामा शिक्षा अध्यापन रोकिएको लामा तेन्जिङ शेर्पाले बताए । हजारौं लामा उत्पादन गरेको यो गुम्बामा द्वन्द्वको समयमा सुरक्षाको जोखिम बढेपछि बौद्ध शिक्षा दिन छोडिएको शेर्पाले बताए । एक समयमा मेची अञ्चलकै नाम कमाएको गुम्बा संरक्षण र प्रचारको अभावमा ओझेलमा पर्दै गएको हो ।
–दिपक बोहोरा