Logo

लचिलो भारतीय नीतिको प्रभाव

भटमास तेल निर्यात वृद्धि १७१४ प्रतिशत

काठमाडौं– भारतले नेपालमा उत्पादित खाने तेलप्रति खुकुलो नीति अख्तियार गरेसँगै निकासी बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारततर्फ ९४ करोड ८ लाख रुपैयाँबराबरको भटमासको तेल निर्यात भएको छ । परिमाणको हिसाबले यो निकासी सामान्य भए पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने अर्थपूर्ण छ ।

गत आर्थिक वर्ष २०८०–८१ को असोजसम्ममा ५ करोड १८ लाखको भटमासको तेल निर्यात भएकोमा चालु आवमा यसको झन्डै १८ गुणा बढी निकासी भएको छ । गत आर्थिक वर्षभरिमा जम्मा ९० करोड १८ लाख रुपैयाँबराबरको भटमासको तेल भारत निर्यात भएको थियो । चालु आवको तीन महिनामै यसभन्दा बढी निकासी भइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका सभापति सुवोध गुप्ताका अनुसार चालु आवमा भटमासको तेलको निकासी व्यापार सुधारात्मक देखिएको छ । अघिल्लो वर्ष ठप्प रहेको निकासीमा यस वर्ष सुधार देखिए पनि दुई वर्षअघिको अवस्थामा फर्कन अझै समय लाग्ने उनको भनाइ छ । आव २०७९–८० को पहिलो तीन महिनामा ३ अर्ब १६ करोडको भटमासको तेल निकासी भएको थियो भने सो आवमा ८ अर्ब ४७ करोड रुपैयाँको निकासी भएको तथ्यांक छ ।

निकासी बढेसँगै भटमासको तेल उत्पादनका लागि उद्योगहरुले कच्चा पदार्थ भित्र्याउने क्रम पनि बढेको छ । तीन महिनामा नेपालमा ५ अर्ब ३७ करोड रुपैयाँको कच्चा पदार्थ भित्रिएको छ । यो परिमाण अघिल्लो वर्षको सोही अवधिमा भित्रिएको ४ अर्ब ४६ करोड रुपैयाँबराबरको तुलनामा २०.५ प्रतिशतले बढी हो । आव २०७९–८० मा ३५ अर्ब ६७ करोड रुपैयाँको कच्चा पदार्थ भित्रिएकोमा गत आवमा निकासी व्यापार सुस्ताउँदा १३ अर्ब ४४ करोड रुपैयाँको मात्र भित्रिएको तथ्यांक छ ।

दुई वर्षअघि भारतका वनस्पति घिउतेल उत्पादकहरुको छाता संगठन ‘सोलभन्ट एक्सट्रेटर्स एसोसिएसन’ले केन्द्रीय सरकारलाई नेपालबाट भारत निर्यात हुने भटमासको तेल रोक्न आग्रह गरेसँगै भारतले कठोर नीति लिँदा नेपालबाट निकासी ठप्प भएको थियो । नेपालमा उत्पादित भटमासले आन्तरिक मागसमेत नधान्ने भएकाले तेस्रो मुलुकबाट आयात गरी यहाँ प्रशोधनपछि भारत निकासी हुँदै आएको छ । यही विषयलाई भारतीय उद्योगहरुले बारम्बार मुद्दा बनाइरहेका छन् ।

नेपालले भारततर्फ निर्यात गर्ने भटमासको तेलको उत्पत्तिको प्रमाणपत्र (रुट अफ ओरिजिन) हेर्न पनि व्यवसायीहरुले भारत सरकारसँग आग्रह गरेका थिए । नेपालबाट निर्यात हुने तेलका कारण भारतको घरेलु उत्पादन र किसानहरुलाई मारमा पारेको त्यहाँ आरोप लाग्दै आएको छ । नेपालबाट भटमासको तेल भारत निकासी गर्दा भारतले शून्य भन्सार र निकै न्यून दरको अन्तःशुल्क लगाउने गरेको थियो । यसकारण भटमासको तेल भारतीय बजारमा सजिलै पुगिरहेको र यसैलाई लक्षित गर्दै नेपालमा दुई दर्जभन्दा बढी तेल उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट उत्पादित तेल आन्तरिक बजारमा २० प्रतिशत हाराहारीमा खपत हुने गरेको र यसबाहेक सबैजसो निर्यात हुने गरेको बताइएको छ ।

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्ट (सावती)ले गरेको अध्ययनअनुसार भारतले प्रशोधित भटमासको तेल आयातमा ४९.५ प्रतिशत महशुल लगाउँछ । तर, नेपाली उद्योगले कच्चा भटमासको तेल अन्य मुलुकबाट आयात गर्दा १० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्छन् । यसका कारण मूल्य अभिवृद्धि पनि पेचिलो विषय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्