वनस्पति तेलले उचालियो निकासी बजार
काठमाडौं– अघिल्लो महिना अर्थात् असोजसम्म वृद्धिदर नकारात्मक रहेको नेपालको निकासी बजारमा कात्तिकमा भने अप्रत्याशित सुधार देखिएको छ । भारतले नेपालबाट वनस्पतिजन्य तेल आयात खुकुलो बनाएसँगै नेपालको निर्यात बजारमा एकै महिना ४.१६ प्रतिशतको सुधार देखिएको हो ।
कात्तिकसम्म नेपालले भारतलगायत मुलुकमा ५२ अर्ब ६७ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा नेपालको निर्यात ५० अर्ब ५६ करोडमा सीमित थियो । भन्सार विभागका अनुसार असोजसम्म नेपालको निर्यात व्यापार ३८ अर्ब ३७ करोडको थियो भने एक महिनामै १४ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ । निर्यातसँगै आयातको सूचकांकमा पनि कात्तिकमा सुधार देखिएको छ । नेपालले निर्यात गर्ने वनस्पतिजन्य तेलको कच्चा पदार्थ भारी मात्रामा आयात हुँदा आयात पनि यस महिनामा ०.१७ प्रतिशतले उकालो लागेको छ । विभागका अनुसार कात्तिकसम्म ४ खर्ब ६० अर्ब ७१ करोड व्यापार घाटा रहेको छ ।
तथ्यांकअनुुसार नेपालले ३ अर्ब ४१ करोडको भटमासको तेल तथा १ अर्ब ५० करोड रुपैयाँको सनफ्लावर तेल निकासी गरेको छ । यस अवधिमा ५२ करोड ५९ लाख रुपैयाँबराबरको पाम आयल निकासी भएको छ । नेपाली उत्पादन नभए पनि तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधनपछि भारतमा यी वस्तुको निकासी हुने गरेको छ । भारतले नेपालमा उत्पादित खाने तेलप्रति खुकुलो नीति अख्तियार गरेसँगै निकासी ह्वात्तै बढ्न थालेको हो ।
तथ्यांकअनुसार अघिल्लो महिना (असोज) सम्म नेपालबाट भारततर्फ ९४ करोड ८ लाख रुपैयाँबराबरको भटमासको तेल निर्यात भएकोमा चौथो महिनामा ३ अर्ब ४१ करोड पुगिसकेको छ । गत आर्थिक वर्षभरिमा जम्मा ९० करोड १८ लाख रुपैयाँबराबरको भटमासको तेल निर्यात भएको थियो भने चालु आवको चार महिनामै यसभन्दा बढी निकासी भइसकेको छ । भारतको नीति यथावत् रहने हो भने निकासी अझै बढ्ने व्यवसायीहरु बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका सभापति सुवोध गुप्ताका अनुसार चालु आवमा भटमासको तेल निकासी व्यापार सुधारात्मक देखिएको छ । अघिल्लो वर्ष ठप्प रहेको निकासीमा यस वर्ष सुधार देखिए पनि दुई वर्षअघिको अवस्थामा फर्कन अझै समय लाग्ने उनको भनाइ छ । दुई वर्षअघि भारतका वनस्पति घिउतेल उत्पादकहरुको छाता संगठन ‘सोलभन्ट एक्सट्रेटर्स एसोसिएसन’ले केन्द्रीय सरकारलाई नेपालबाट भारत निर्यात हुने भटमासको तेल रोक्न आग्रह गरेसँगै भारतले कठोर नीति लिँदा नेपालबाट निकासी ठप्प भएको थियो । नेपालमा उत्पादित भटमासले आन्तरिक मागसमेत नधान्ने भएकाले तेस्रो मुलुकबाट आयात गरी यहाँ प्रशोधनपछि भारत निकासी हुँदै आएको छ । यही विषयलाई भारतीय उद्योगहरुले बारम्बार मुद्दा बनाइरहेका छन् ।
नेपालले भारततर्फ निर्यात गर्ने भटमासको तेलको उत्पत्तिको प्रमाणपत्र (रुट अफ ओरिजिन) हेर्न पनि व्यवसायीहरुले भारत सरकारसँग आग्रह गरेका थिए । नेपालबाट निर्यात हुने तेलका कारण भारतको घरेलु उत्पादन र किसानहरुलाई मारमा पारेको त्यहाँ आरोप लाग्दै आएको छ । नेपालबाट भटमासको तेल भारत निकासी गर्दा भारतले शून्य भन्सार र निकै न्यून दरको अन्तःशुल्क लगाउने गरेको थियो । यसकारण भटमासको तेल भारतीय बजारमा सजिलै पुगिरहेको र यसैलाई लक्षित गर्दै नेपालमा दुई दर्जनभन्दा बढी तेल उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट उत्पादित तेल आन्तरिक बजारमा २० प्रतिशत हाराहारीमा खपत हुने गरेको छ । बाँकी सबैजसो निर्यात हुने गरेको छ ।