सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा
काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष ओमप्रसाद दाहालले सिटिइभिटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन् ।
सोमबार पदभार ग्रहण गरेका दाहालले तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबैले सिटिइभिटीका श्रीवृद्धिमा लाग्न आग्रह गरे । उनले सुशासनलाई मुल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए ।
दाहालले सबै सरोकारवाला पक्षसँग बसेर सिटिइभिटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरु खोजि त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकता औंल्याए । देशभरका आम युवाहरुमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन सात वटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने बताए ।
सिटिइभिटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्ने आश्वासन दिए । दाहालले सिटिइभिटीमा कर्मचारी, प्रशिक्षार्थी, आंगिक सम्बन्धन प्राप्त शिक्षालयका समस्याहरुलाई प्राथमिकताका आधारमा अघि बढाइ नीतिगत र आर्थिक प्रशासनिक समस्याहरु समाधान गर्न लागि पर्ने प्रतिवद्धता जनाए ।