Logo

राष्ट्रिय आविस्कार केन्द्रद्वारा ज्योति विकास बैंक सम्मानित

काठमाडौं– ज्योति विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गरेको भन्दै सम्मानित भएको छ । नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थामा ‘न्यानो नानी’ परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्‍याएकोमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले बैंकलाई सम्मानित गरेको छ ।

केन्द्रका अध्यक्ष डा. पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई सम्मानपत्र प्रदान गरे । ४ वर्षदेखि ‘न्यानो नानी’ परियोजनामार्फत आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी बेबी वार्मर मेसिन निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रमा जडानका लागि बैंकले वित्तीय सहयोग गर्दै आएको छ ।

बैंकका शाखा कार्यालयहरुको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ । दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुको जीवन जोखिममा पर्ने गरेको सन्दर्भमा जोखिम न्यूनीकरण गर्ने महत्त्वपूर्ण उपकरण स्वास्थ्य संस्थाहरुमा प्रदान गर्ने यस परियोजनालाई बैंकले भविष्यमा समेत निरन्तरता प्रदान गर्ने बताइएको छ ।

नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलमार्फत प्रदान गरिएका ५१ वटा बेबी वार्मर उपकरणले हरेक वर्ष करिब १८८७ भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको बैंकको दावी छ । एउटा बेबी वार्मरले हरेक वर्ष ३७ वटा नवजात शिशुको जीवन रक्षाका लागि मद्दत गर्ने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्