Logo

धानमा किरा प्रकोप, किसान चिन्तित

वीरगन्ज– धानमा किरा प्रकोपको कारण किसान चिन्तित भएका छन् । पाकिसकेको धान भित्र्याउने समयमा किरा प्रकोप बढेपछि किसानहरू चिन्तित भएका हुन् । पर्सामा किसानहरूले लगाएको धान काटेर भित्र्याउने बेलामा फौजी किरा प्रकोपले धानमा ठूलो नोक्सानी पुर्‍याएको छ । पर्सामा सोना मन्सुली र मोटरी मन्सुली धान भित्र्याउने क्रम जारी छ ।

पर्साको बहुदरामाई, कालिकामाइ, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, ठोरीलगायतका केही किसानहरूले सोना सारो, भदैया मन्सुली कतरनी तथा उत्नत जातको (हाईब्रिड) जातका धानबाली भित्र्याइ सके पनि अन्य जातका धान कटानी सुरु भएको छ । खेतमा पाकिसकेको धान र किसानले काटेर पाँजा बनाएर राखेको धानमा समेत किराले काटेर नोक्सान पुर्‍याउन थालेको किसानहरूले बताएका छन् ।

किसानहरूको व्यापक गुनासो आएपछि कृषि ज्ञान केन्द्र पर्साको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको केन्द्र प्रमुख कमलदेव कुश्वाहले बताए । प्राविधिकहरूको टोलीले किराले नोक्सानी गरेको भेटेको बताउँदै प्रमुख कुश्वाहले काटेको धानमा विषादी छरे पनि खासै उपलब्धि नहुने जानकारी दिए ।

उनले भने,‘धानको बाला काट्ने फौजी किरा जस्तै फंगी किरा हो । यसले काटिराखेको धानको पनि बाला काटेर नोक्सान पुर्‍याउँछ । नकाटेको धानको पनि बाला काट्छ । राति मात्रै बाला काट्न निस्किन्छ । दिउँसोको समयमा बाहिर देखिदैन । काटेर पाँजा लगाएको धानमा विषादी छर्न पनि समस्या हुन्छ ।’

धानमा किरा प्रकोप बढेपछि छिटो छिटो धान काटेर भित्र्याउन आधुनिक प्रविधिको मेशिन तथा औजारको प्रयोग गरेर भित्र्याइएको धान धेरै दिनसम्म भण्डारण गर्न नहुने, धान कुहिने समस्या हुने गरेको किसानहरूले बताएका छन् । धान काट्नका लागि प्रयोग हुने हार्भेस्टर मेसिन, रिपर तथा थ्रेसरलगायतका आधुनिक मेशिनको प्रयोगका कारण धानबाली कटानी गर्न र दाइँ गर्न निकै सहज भए पनि किराको प्रकोपले छिटो धान काटेर भित्र्याउँदा भण्डारणमा धेरै दिन राख्न नमिल्ने गरेको किसानहरूको भनाइ छ ।

धान दाइँ गरेपछि पराल गाईवस्तुका लागि खुवाउन प्रयोग गरिन्छ । तर, हार्भेस्टर प्रयोग गरी कटानी गर्दा पराल खेतभरी नै छरिने र जम्मा गर्न निकै कठिनाई हुने हुँदा परालको पनि नोक्सानी व्यहोर्नुपरेको किसानहरूले बताएका छन् । हार्भेष्टरले कटानी गरेको धानलाई घाममा ५/६ दिनसम्म लगातार सुकाउनु पर्ने, घाम पनि पारिलो नलाग्दा धान सुकाउन समस्या भइरहेको किसान भागवन चौधरीले बताए ।

किरा प्रकोपले पूर्ण रूपमा धान पाक्न नपाउँदै काट्नुपर्ने बाध्यता र सुकाउन नपाउँदै हार्भेष्टरबाट धान दाइँ गर्नु पर्दा किसानले दोहोरो, तेहेरो नोक्सानी व्यहोर्नु परेको उनी बताउँछन् । यस वर्ष पर्सामा हावाहुरीले पनि धानमा केही नोक्सान गरेको र अहिले किरा प्रकोपले धान उत्पादनमा केही कमी आउन सक्ने सम्भावना बढेको कृषि ज्ञान केन्द्रका प्रमुख कुश्वाहाको भनाइ छ ।

हेड क्याटर पिलर नामको एक प्रकारको फौजी किराले बाला काट्ने गरेकोले त्यसको नियन्त्रणका लागि चाडै धान काटेर पाँजा नलगाई दाँइ गर्नुको विकल्प नरहेको उनी बताउँछन् । विषादी नै हाल्ने भए पनि साईपरमेथ्रिन नामको विषदी प्रतिलिटर २ एमएल घोलेर छर्किदा किरा कम लाग्ने कुश्वाहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्