रुग्ण उद्योग खोज्दै लुम्बिनी सरकार
दाङ– लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको असोज अन्तिमसम्म उद्योग प्रशासनतर्फका ३ हजार ६ सय ५८ उद्योग नवीकरण हुँदा ९ सय ४० वटा नयाँ उद्योग दर्ता भए । ९ सय ४० उद्योग दर्ता हुँदा ६ सय १८ उद्योग बन्द भए । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार उद्योग खारेजीको यो संख्या अघिल्ला वर्षभन्दा बढी हो । यसैगरी वाणिज्य प्रशासनतर्फका उद्योगहरुको अवस्था पनि उस्तै देखिन्छ ।
यसतर्फ ३ हजार ९ सय ५३ उद्योग नवीकरण हुँदा १ हजार २ सय ७६ उद्योग नयाँ थपिए । तर, ६ सय ४९ उद्योग खारेज भए । मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदी भन्छन्, ‘उद्योग दर्ताप्रति जुन उत्साह देखिनुपर्ने हो त्यो एकदमै न्यून छ । खारेजीको अवस्था हेर्ने हो भने प्रदेशमा रुग्ण उद्योगहरुको संख्या धेरै छ भन्ने सहजै आँकलन गर्न सकिन्छ ।’ मन्त्रालयका अनुसार कोरोना कालदेखि उद्योग सञ्चालनमा समस्या देखिन सुरु भएको हो ।
त्यसयता लगातारको आर्थिक मन्दीका कारण उद्योग सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको देखिन्छ । उद्योग खारेजीको संख्या बढ्दै जान थालेपछि उद्योग सहज सञ्चालनको वातावरण कसरी निर्माण गर्ने भन्नेबारे उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उपायको खोजी गर्न थालेको छ । रुग्ण अवस्थामा चलिरहेका उद्योगहरुलाई कसरी चलायमान बनाउने भन्नेबारेमा मन्त्रालयले प्रदेशका यस्ता उद्योगहरुको पहिचान गर्ने भएको छ ।
‘प्रदेशका १२ वटै जिल्लाका उद्योगहरुको अवस्था हेर्ने हो भने खारेजी हुने संख्या बढ्दै गएको देखिन्छ । यसले के पुष्टि गर्छ भने उद्योग सञ्चालनमा अहिले निकै कठिनाइ उत्पन्न भइरहेको छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘उद्योग सञ्चालनमा देखिएका व्यवधान कसरी हटाउन सकिन्छ भन्ने विषयमा हामी गम्भिर छौं । अब यसको कारणको खोजी गरी मन्त्रालयका तर्फबाट उद्योगको सहज सञ्चालन गर्ने वातावरण निर्माण गर्न हामी गम्भिर रुपमा लाग्छौं ।’
उनका अनुसार पहिलो चरणमा प्रदेशभर रुग्ण अवस्थामा रहेका उद्योगहरुको पहिचान गरिने भएको छ । उद्योगहरु रुग्ण बन्नुको कारण खोजी हुनेछ र यस्ता उद्योगहरुलाई चलायमान बनाउनका लागि मन्त्रालयले गर्न सक्ने आवश्यक सहयोग एवं समन्वयको योजना बनाउने भएको छ । प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुलाई यस्ता रुग्ण उद्योगहरुको एकिन पहिचान गर्न मन्त्री न्यौपानेले निर्देशन दिएका छन् ।
सोही निर्देशनअनुसार उद्योग कार्यालयमार्फत रुग्ण उद्योगहरुको संख्या र अवस्था यकिन गरिने भएको छ । ‘कुनै पनि उद्योग व्यवसाय सहज तरिकाले चलायमान बनाउनका लागि उचित वातावरण निर्माण गरिनुपर्छ । अहिले उद्योग व्यवसाय सञ्चालन गर्न नसकेर कैयौं उद्योगी, व्यवसायीहरु विदेश पलायन हुनु परिरहेको तितो यथार्थ छ,’ मन्त्री न्यौपानेले भने, ‘यहाँका उद्योगहरुलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गरेर प्रदेशको समृद्धिको लक्ष्य पूरा गर्ने योजनामा मन्त्रालय लागिपरेको छ ।’
मन्त्री न्यौपानेले यस्ता रुग्ण उद्योगहरुको पहिचानपछि सरकारका तर्फबाट आर्थिक सहायताको कार्यक्रम तय गरिने बताए । ‘रुग्ण उद्योगहरुको पहिचान गरेर उद्यमीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने गरी योजना बनाइने छ,’ मन्त्री न्यौपानेले भने ।