महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
काठमाडौं- मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरिएको छ ।
सोमबार धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु लागयत सबै आठ टिमका मार्की खेलाडी र क्रिकेटहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला नेपाल प्रिमियर लिग(एनपिएल) को आयोजना गर्न नेपाल क्रिकेट संघलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले एनपिएलको शुभकामना दिँदै आगामी दिनमा महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न पनि क्यानका पदाधिकारीहरुसँग आग्रह गरेका हुन् ।
उनले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताए । उनले क्रिकेट खेल मात्र नभइ राष्ट्रिय जागरुकता, अनुशासनको प्रतिक पनि बनेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सबै टिमहरुलाई शुभकामना दिए । उनले एनपिएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।
यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताए । कार्यक्रममा बोल्दै उनले एनपिएलको चर्चा स्वदेशमा मात्र नभए विदेशमा समेत भइरहेको भन्दै एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
त्यस्तै, क्यानका सचिव पारस खड्काले एनपिएलले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्याउने आशा व्यक्त गरे । उनले प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत एनपिएलको ट्रफी महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । सचिव खड्काले सिंगो देशलाई एकै ठाउँमा उभ्याउन एनपिएल महत्त्वपूर्ण सावित हुने बताए ।