सडक विस्तारको डीपीआर अझै तयार भएन «

सडक विस्तारको डीपीआर अझै तयार भएन

गत निर्वाचनको समयमा सडक विस्तार गर्दै पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई ६ लेनको बनाउने राजनीतिक दलहरूले चुनावी नारा बनाए पनि तीन तहको निर्वाचन सम्पन्न भई नयाँ सरकार बनिसक्दा समेत सडक विस्तारको डीपीआर तयार हुन सकेको छैन ।
नेपालको सबैभन्दा लामो राजमार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्ग तत्कालीन राजा महेन्द्रले वि.सं २०१९ मा निर्माण सुरू गरेका थिए । भारत तथा सोभियत संघको सहयोगमा निर्माण भएको यो राजमार्गको लम्बाइ १०२७.२७ किलोमिटर छ । वि.सं २०२८ सालबाट राजमार्ग सञ्चालनमा आए पनि ४४ वर्षपछि सरकारले राजमार्गलाई ६ लेनको बनाउन सुरु गरेको छ । पाँच वर्षभित्र १६० किमि सडक ६ लेनको बनाइसक्ने गरी सरकारले काम सुरु गरे पनि पूर्वमा भने यसको डीपीआरसमेत तयार नगरेको सरकारका एक अधिकारीले बताए ।
दुई वर्षअघि सरकारले नारायणगढ–बुटवल खण्ड विस्तारको काम सुरु गरेको थियो । एसियाली विकास बैंकले सडक विस्तारका लागि १८ करोड अमेरिकी डलर ऋण दिने घोषणा गरेपछि नेपाल सरकारले सडक विस्तारलाई तीव्रता दिएको हो । तर, पूर्वमा भने सडक विस्तारको काम अघि बढ्न नसकेको सरकारी अधिकारीहरूको भनाइ छ । पहिलो चरणमा काँकरभिट्टाको मेचीपुलबाट कोसीको लौकहीसम्म ६ लेनको सडक बनाइने बताइए पनि तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार बनिसक्दा पनि सडक विस्तारको डीपीआरसमेत तयार हुन सकेको छैन । सडक दिन प्रतिदिन जीर्ण बन्दै जाँदासमेत जिम्मेवार निकाय मौैन छ ।
पूर्वको सडकको सुरक्षा गर्ने जिम्मा पाएको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकले सडक सुरक्षाको विषयमा काम नै नगरेको यातायात व्यवसायीहरूले आरोप लगाएका छन् । राज्यले यातायात व्यवसायीसँग लिने शुल्क बर्सेनि बढाउँदै लगे पनि सडकको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकाले दुर्घटनाको जोखिम बढ्दै गएको यातायात व्यवसायीको भनाइ छ । सडकमा जानकारीमूलक होर्डिङ बोड राख्ने, सडकको सुरक्षा गर्नेलगायतका अधिकार सडक विभागलाई प्रदान गरिएको छ । सडक तथा यातायात ब्यवस्था ऐन २०४९ मा सडक विभागलाई बुँदागत रूपमा स्पष्टसँग काम कर्तव्यहरूको बारेमा उल्लेख गरिएको छ । तर, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकले भने सडक सुरक्षाको विषयमात्रै होइन सडकमा जेब्राक्रससमेत बनाएको छैन ।
पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका प्रमुख राजेश यादवले मेचीदेखि मावा खोलासम्मको ५५ किमि सडक विस्तारको काम सुरु नभएको बताए । राजमार्गको झापा सडक खण्डमा ५ स्थानमा धर्मकाँटा बनाइएको छ । धर्मकाँटाले सडकको भागलाई छाडेर छुट्टै पार्किङ बनाउनु पर्ने भए पनि सबै धर्मकाँटाले पार्किङ बनाएका छैनन् । पार्किङ नबनाएका कारण मालवाहक ठूला सवारीले सडक मिचेर पार्किङ गर्ने गरेका छन् । धुलाबारी र बिर्तामोडमा २/२ वटा धर्मकाँटा छन् भने दमकको ताराबारीमा एउटा धर्मकाँटा छ । सडकमा जथाभावी पार्किङ गरेका कारण दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए । उनले सडक मिच्नेहरूलाई हटाउने काम ट्राफिक प्रहरीको मात्र नभएको भन्दै सडक डिभिजन कार्यालय, यातायात कार्यालय र स्थानीय निकायले यो विषयमा चासो दिन जरुरी रहेको बताए । दिन प्रतिदिन सवारीको संख्या बढ्दै जानु, सडक फराकिलो नहुनु, भएको सडक पनि जीर्ण हुनु सवारी दुर्घटना बढ्नुको प्रमुख कारण रहेको प्रहरी सहायक निरीक्षक खड्काको भनाइ छ ।
राजमार्गमा गुड्ने सवारीमा १० टनमात्र लोड गर्न पाउने व्यवस्था रहेको छ । तर, नियमन गर्ने निकाय यातायात कार्यालय सडकमा नै नआउने गरेकाले राजमार्गमा ५२ टनसम्म लोड भएका सवारी साधन गुड्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय सवारी साधनलाई निषेध गर्न नमिल्ने बताउँदै प्रहरी सहायक निरीक्षक खड्काले यसको नियमन गर्ने निकाय यातायात कार्यालय भएको बताए । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेलाई पाँच सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना लिन पाउने प्रावधान रहेकाले सोही अनुरुप यस्ता सवारीलाई कारबाही गर्ने उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले माघ र फागुनमा क्षमताभन्दा बढी सामान बोक्ने १० वटा मालवाहक सवारीलाई कारबाहीका लागि यातायात व्यवस्था विभाग मेची पठाएको उनले बताए ।
झापामा सवारी चाप बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटक–पटक विभिन्न राजनीतिक दल, संघ–संस्था, सरकारी निकायका कर्मचारी, यातायातका मालिक तथा मजदुरका साथै सवारी चालकसँग दुर्घटना रोक्ने विषयमा छलफल गरे पनि छलफल छलफलमा नै सीमित हुने गरेको पाइएको छ ।
केही संस्थाले सडक दुर्घटना रोक्ने भन्दै अभियान सुरु गर्ने बताइरहे पनि उनीहरूले स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका छैनन् । सडक फराकिलो नहुनु अनि सवारीको चाप बढ्नु नै दुर्घटनाको मुख्य कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक खड्काले बताए ।

तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्