अमेरिका-अष्ट्रेलिया पुग्छ भोगटेको बोक्राबाट बनेको तितौरा
हेटौंडा–अमिलो र गुलियो स्वादको मिश्रण रहेको भोगटेको भित्री केस्रा साँधेर वा त्यत्तिकै खाने गरिन्छ । त्यसको बाक्लो बोक्रा भने कुनै प्रयोग नगरी त्यतिकै फालिन्छ । यसरी फालिँदै आएको भोगटेको बोक्राबाट अत्यन्तै स्वादिलो तितौरा बनाएर अमेरिकादेखि अष्ट्रेलियासम्म निर्यात भइरहेको छ । काभ्रेको बनेपाकी कमला लामाले पाँच वर्षदेखि भोगटेको बोक्राबाट क्यान्डी तितौरा बनाएर देश–विदेशमा बिक्री गरिरहेकी छन् ।
जम्भला कृषि फर्म उद्योगमार्फत उत्पादन हुने जम्भला ब्रान्डको भोगटेको क्यान्डी तितौरा, किबी क्यान्डी, लप्सी क्यान्डीको माग धान्नै गाह्रो छ । उनको क्यान्डी नेपालमा मात्रै नभई विदेशमा पनि उत्तिकै रुचाइएको छ । कमलाकी जेठी छोरी अमेरिकामा बसेर आमाले उत्पादन गरेको उत्पादनको डिजिटल मार्केटिङ गर्छिन् । नेपालबाट सप्लायर्समार्फत मासिक लाखौं रुपैयाँको क्यान्डी तितौरा अमेरिका, जापान, अष्ट्रेलियालगायत देशमा निर्यात हुने गरेको उद्योग सञ्चालिका लामाले बताइन् । ‘सबैले अति मीठो मानेका छन् । नेपालमा त माग छँदैछ, विदेशमा पनि उत्तिकै माग हुन्छ । महिनामा करिब ४–५ लाखको सामान त म विदेशै पठाउँछु,’ लामाले भनिन् ।
भोगटेको बोक्रालाई प्रशोधन गरी त्यसमा चिनी, खुर्सानी, मरिचको धुलोलगायत हालेर क्यान्डी बनाउने गरिएको छ । किबी र लप्सीको क्यान्डी पनि सोहीअनुसार प्रशोधन गरी बनाउने गरिन्छ । भोगटे र किबीको क्यान्डीको मूल्य प्रतिकिलो एक हजार र लप्सीको क्यान्डी प्रतिकिलो ८ सय रुपैयाँ निर्धारण गरिएको छ । दुई सय ग्रामको प्याकेट बनाएर लेबल र ब्रान्डिङ गरी स्वदेश तथा विदेशमा पठाउने गरिएको छ । नेपालमा पनि विभिन्न सप्लायर्सले फर्ममै आई उत्पादन किन्ने गरेका छन् ।
बनेपामा फर्मको आफ्नै ३ रोपनी जग्गा छ । सो जग्गामा किबी, भोगटे, लप्सीलगायत खेती गरिएको छ । आफ्नो बारीमा फलेको बाहेक देशैभरबाट सिजनअनुसार भोगटे, लप्सी, किबी खरिद गरी ल्याउने गरिन्छ । १५ वर्षअघिसम्म घरमै मास, कर्कलोलगायत घरायसी उत्पादनको मस्यौरा बनाएर गाउँघरमा बिक्री गरेर आम्दानी गर्दै आएकी कमलाले ७ वर्षयता भोगटेको बोक्रा, किबी, लप्सीलगायत फलको क्यान्डी तितौरा बनाएर बिक्री गर्न थालेपछि उनको उद्यम यात्राले रफ्तार लिइरहेको छ ।
सात वर्षअघि ५ लाख लगानीमा केही मेसिन किनेर क्यान्डी उत्पादन थालेकी लामाले हाल लगानी करिब १ करोड हाराहारीमा पुर्याएकी छन् । उनको फर्ममा हाल १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । कमलाका पति श्रीकृष्ण लामा फर्ममै व्यवस्थापनको काम गर्छन् भने कान्छी छोरीले पनि बजार व्यवस्थापनको काममा सघाउँछिन् । वर्षमा करिब करोडभन्दा बढीको कारोबार हुने गरेको बताउँदै सञ्चालक लामाले वर्षमा सबै खर्च कटाएर करिब १५ लाख आम्दानी हुने गरेको बताइन् । आफ्नो उद्यमशीलताको कदर गर्दै स्थानीय र प्रदेश सरकारले मेसिन तथा औजार खरिद गर्न सघाएको उनले जानकारी दिइन् । करको केही झन्झट रहेको भन्दै उनले उत्पादनमूलक घरेलु उद्योगलाई करमा विशेष छुट हुनुपर्ने माग गरिन् ।
यसैबीच बागमती प्रदेशको उद्योग मन्त्रालयले प्रदेशकै सर्वोत्कृष्ट उद्यमीको रुपमा जम्भला कृषि फर्मलाई सम्मान गरेको छ । १० औं उद्योग दिवसको अवसरमा आइतबार नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमअन्तर्गत बागमती प्रदेशमै सर्वोत्कृष्ट घोषित जम्भलालाई एक लाख रुपैयाँसहित प्रदेश सरकारले सम्मान गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले जम्भलासहित १३ जिल्लाका १३ जना उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेका हुन् । उत्कृष्ट फर्मलाई प्रतिफर्म ४० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
प्रदेशभित्र जिल्लागत रुपमा उत्कृष्ट हुने फर्महरुमा कोम्हेन्दो एकीकृत कृषि फार्म (मकवानपुर), युनिक पशुपन्छी तथा कृषि फर्म, (धादिङ), एसएस टेलर्स एण्ड स्यानिटरी प्याड तथा मास्क (रसुवा), वरपिपल दुना टपरी उद्योग (सिन्धुली), ओम फुड प्रोडक्ट (काठमाडौं), श्रृजनशील कृषि फर्म (ललितपुर), सुरी मौरीपालन तथा घार उद्योग (दोलखा), नव युवा कृषि फर्म (नुवाकोट), लक्ष्मी चिउरा उद्योग (भक्तपुर), एसीएन नेपाली कागज उद्योग (चितवन), मन्थली डिलक्स एग्रो फरेस्टी (रामेछाप), कफी सहकारी उद्योग (सिन्धुपाल्चोक), बिजेएस ह्याण्डीक्राफ्ट एण्ड पनौती सेभिनियर हाउस (काभ्रे) छन् । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार बागमती प्रदेशमा कुल ५ हजार नौ सय २६ वटा उद्योग दर्ता रहेका छन् ।