गरिमाले मनायो १८औं वार्षिकोत्सव
काठमाडौं– गरिमा विकास बैंकले १८औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा विकास बैंकले देशका विभिन्न स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको छ । हाल देशभर रगत अभाव भएको परिस्थितिलाई मध्यनजर गर्दै विकास बैंकले देशका विभिन्न ७ स्थानमा रक्तदान कार्यक्रम गरी कुल ५६२ युनिट रगत संकलन गरेको बैकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले जानकारी दिए ।
सो अवसरमा विकास बैंकले प्रधान कार्यालयमा गरेको रक्तदानबाट ७७ युनिट रगत संकलन भएको थियो । त्यस्तै विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट, क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन भएको थियो । वार्षिकोत्सवकै अवसरमा बैंकले जिल्ला ट्राफिक कार्यालय पोखरालाई ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान गरेको छ ।
त्यस्तै कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकका लागि ट्राफिक डिभाइडर कोन प्रदान गरिएको थियो । बैंकले कान्ति बाल अस्पताल, बेनी अस्पताल, ज्ञानज्योति आधारभूत विद्यालय स्याङ्जा, जानकी मन्दिर जनकपुरधामलगायत विभिन्न स्थानमा पनि आवश्यक सामग्री सहयोग गरेको जनाएको छ ।