Logo

कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि अग्नि समूहलाई

वीरगन्ज– वीरगन्जमा सम्पन्न पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि औद्योगिक प्रतिष्ठान अग्नि समूहले हात पारेको छ । शनिबार भएको अन्तिम खेलमा सिद्धार्थ बैंकलाई १९ रनले पराजित गर्दै अग्नि समूहले पाँचौ कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अग्निले निर्धारित ६ ओभरको खेलमा सिद्धार्थ बैंकलाई ७२ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ गरेको सिद्धार्थ बैंकले २ विकेट गुमाएर ६८ रनमै समेटिएपछि खेल अग्निले जितेको हो । फाइनल खेलको म्यान अफ दी म्याच अग्नि समूहका मुकुन्द रौनियार भएका थिए । विजेता खेलाडीलाई मधेस प्रदेश सरकारका युवा, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले शील्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।

पुरस्कार वितरण गर्दै मन्त्री जयसवालले मधेसमा खेलकुदको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले कामहरु गरिरहेको बताए । मुलुक संघीयतामा गएको सात वर्षमा पनि प्रदेशमा खेलकुद ऐन नबनेकोमा आफूले जिम्मेवारी पाएपछि भदौ २८ गते प्रदेश खेलकुद ऐन पारित भइसकेको र खेलकुद परिषदहरु गठनको प्रकृयामा रहेको जानकारी दिए । उनले काठमाडौंको दशरथ रंगशालापछिको ठूलो नारायणी रंगशालाको निर्माणका लागि संघ सरकारको मन्त्रालयसँग समन्वय गरिरहेको पनि बताए ।

उनले मधेस प्रदेश खेलकुदको लागि सम्भावनका बोकेको प्रदेश भएको र हालै सम्पन्न १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट छनोटमा पुगेको टिममा नेतृत्व गर्ने पूजा महतोसहित तीन जना महिला मधेसबाटै प्रतिनिधित्व गरेकोमा गर्व महशुस गरेको बताए । उनले विश्वकप छनोटमा पुग्न सफल तीनजना महिला खेलाडीलाई जनही एक लाख ५० हजारको दरले नगदसहित मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले सम्मान गरेको बताए ।

मन्त्री जयसवालले नेपाल प्रिमियर लिगमा पनि मधेसबाट खेलाडीको प्रतिनिधित्व बलियो रहनेमा विश्वास व्यक्त गर्दै मधेस प्रदेशमा पनि प्रदेश स्तरीय मधेस प्रिमियर लिग र मधेस प्रदेश क्रिकेट प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । मधेस प्रदेशमा रहेका खेलकुद मैदानको अवस्थाको विवरण आठवटै जिल्लाबाट माग गरिएको र खेलाडीको पनि विवरण माग गरिएको जानकारी दिँदै अभिलेख राखेर खेलकुदको विकासमा योजनाबद्ध ढंगबाट अगाडि बढ्ने बताए ।

वीरगन्ज स्पोर्टस एकेडेमी र लायन्स क्लब अफ वीरगन्ज परिवारको संयुक्त आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा वीरगन्जका वाणिज्य बैंक, बीमा कम्पनी, अटोमोबाइल कम्पनी र औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिमले सहभागिता जनाएको लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्