डेढ अर्ब लगानीमा पाँच तारे रोयल टुलिप रिसोर्ट
चितवन– देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा पनि लगानी बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् ।
यसै क्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पहिलो पाँच तारे होटल रोयल टुलिप निर्माण सम्पन्न भई आगामी जनवरीदेखि सञ्चालनमा ल्याउन लागिएको हो । झण्डै ३ वर्ष लगाएर रत्ननगर नगरपालिका–५ जनकौली सामुदायिक वन कार्यालय अगाडी केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण सम्पन्न भई लुभ्र होटल्स ग्रुपको सहकार्यमा ‘रोयल टुलिप’ सञ्चालनमा आउन लागेको हो । होटलमा झण्डै १ अर्ब ५० करोड लगानी भएको छ ।
विश्व बजारमा सफलता हासिल गरिरहेको बहुर्राष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्सअन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ प्रवर्द्धन गर्न सहयोग गर्ने केटीएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले बताए । ‘चितवनको पर्यटनको देशमै अलग भूमिका छ’ अध्यक्ष शाहले भने, ‘यहाँ निकुञ्जका होटल बन्द भएपछि पर्यटक लक्षित स्टार होटल सञ्चालनमा आएको थिए, यसकारण पर्यटकहरुको माग र चितवनको विकासमा टेवा पुर्याउने उद्देश्यले पाँच तारे होटल सुरु गर्न लागेको हो ।’
होटलका लगानीकर्ता शाह गैरआवासीय नेपालीका एक अगुवा पनि हुन् । चितवनमा पाँच तारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल चल्ने र खुल्ने गरेकाले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालनका लागि आफूले लगानी गरेको शाहले भनाइ छ ।
उनले भने, ‘हामीले निर्माण गरिरहेको पाँचतारेस्तरको रिसोर्ट हो । चितवनमा लोकल ब्राण्डका होटलहरु मात्र रहेकामा रोयल टुलिप पहिलो विदेशी ब्रान्डको रिसोर्ट हो ।’ रिसोर्ट निर्माणमा सुरुमा ७० करोड लागत अनुमान गरिएकोमा बढेर अहिले एक अर्ब ५० करोड रुपैयाँ बढी पुगेको बताउँदै शाहले भने, ‘हामीले पर्यटकलाई विशेष सुविधा दिने लक्ष्यसहित रिसोर्टमा सुविधाको व्यवस्था गरेका छौं । विभिन्न कारणले गर्दा अनुमानित लागत पनि बढेको छ ।’
हेरिटेज, बुटिक शैलीमा निर्माण गरिएको होटलमा जिल्लाकै ठूला सभा हल, पाँच सय क्षमताको बैंक्वेट हल, सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, आगन्तुक पाहुनाले डुंगा सयर, जलमहलको बास, स्पासहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थियटर, लङ टेनिस कोर्ट, पदयात्रा मार्ग, आफ्नै बेकरी, ग्रिल बार र रेष्टुरेण्ट जस्ता सेवा पाउने छन् ।
प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेष्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ भने रिसोर्टमा हेल्थ क्लब, चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेको छ । कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने सञ्चालक शाहको भनाइ छ । होटलभित्रका सबै संरचनाहरुमा प्रकृतिमैत्री छ । होटलमा तीन सय जनालाई रोजगारी दिने ग्रुपको तयारी छ ।
अध्यक्ष शाहले पर्यटन क्षेत्र नेपालीको अर्थतन्त्रको बलियो खम्बा रहेपनि कोरोना महामारीले अकल्पनीय रुपमा थला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालन गर्न लागेको बताए । करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुइटलगायत ५ प्रकारका सुविधा सहितका कोठा रहने रिसोर्ट नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीको प्रयोग गरी निर्माण भएको उनले बताए ।
रिसोर्टमा १३ वटा एक तल्ले, पाँच वटा दुई तल्ले, तीन वटा तीन तल्ले र एउटा चार तल्ले गरी २२ वटा भिल्ला छन् । यी भिल्लामा सुइटलगायत विविध सुविधासहितका ६४ कोठा छन् । रोयल टुलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एण्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि भर्ना खोलिएको सञ्चालक शाहले बताए ।
शाहका अनुसार रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भए पनि आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारी सकेसम्म स्थानीय र नभए नेपाली नै राखेर सञ्चालन गर्ने योजना छ । जसले व्यवसाय सञ्चालन भएको स्थानमा रहेका स्थानीयलाई रोजगारी सिर्जना हुने उनले बताए । सन् २०२० को जनवरीमा स्थापित केटीएम हस्पिटालिटीद्वारा निर्माण भएको केटिएम ग्रुपपको पहिलो रिसोर्ट हो । रिसोर्टभित्र १ फन्को लगाउँदा १ किलोमिटरको ट्रेल हुन्छ ।