इपिएसअन्र्तगत अन्तिम छनोटको तयारी
मंसिर अन्तिमबाट थप नेपाली कोरिया जाने
काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत सन २०२४ का लागि मंसिर अन्तिममा थप युवासँग करार सम्झौता हुने भएको छ । यो करार सम्झौतापछि हाल रोष्टरमा रहेका थप नेपाली कोरिया जान पाउने छन् । कोरियाले यो वर्षको नेपालसहित विदेशी श्रमिकको माग कोटा मंसिर अन्त्यबाट छनोट गर्ने भएको हो । करार सम्झौता भनेको हाल रोष्टरमा रहेकामध्ये यो वर्षको पाँचौ विदेशी कामदार छान्ने छान्ने अवधि हो ।
यद्यपि कोटाको संख्या सार्वजनिक नगरिए पनि कृषि तथा पशुपालन, उत्पादन, सेवा क्षेत्र र अन्य रहेका छन् । यसअघि छनोटका लागि छुटयाईएको ४० हजार ९८८ मध्ये उत्पादनमूलक क्षेत्रका लागि २५ हजार १६८, सिप बिल्डिङ क्षेत्रका लागि १ हजार ६२५, कृषि तथा पशुपालन क्षेत्रमा ४ हजार ५५९, सेवा क्षेत्रका लागि ५ हजार ५८, निर्माण क्षेत्रका लागि १ हजार ७६८ र मत्स्य पालन क्षेत्रतर्फ २ हजार ८१० छनोट गरिएको थियो ।
यसमध्ये कुन देशलाई कति कोटा दिनेबारे खुलाइएको छैन । छनोट प्रक्रिया भदौ १७ गतेबाट हुने एचआरडी कोरियाले जनाएको छ । इपिएसअन्र्तगतका १७ देशमध्ये नेपाल सबैभन्दा बढी कामदार पठाउने देश भएका कारण यो पटकको छनोटमा नेपालबाट सबैभन्दा बढी युवा छानिने अनुमान रहेको छ ।
वैदेशिक रोजगार विभाग इपिएस शाखाकी पूर्व निर्देशक तथा कोरियाका लागि श्रम काउन्सिलर मैंया कडेलले अन्य देशको तुलनामा नेपालबाट धेरै कामदार छनोट गर्ने भएकाले आगामी दिनमा नेपालबाट बढीभन्दा बढी युवाले कोरियामा रोजगारी पाउन सक्ने बताइन् । उनले पछिल्लो समय कोरियाले नेपालबाट विभिन्न क्षेत्रमा नेपाली लैजान रोष्टर परिवर्तन गर्ने अनुमति दिएको बताइन् ।
विगत वर्षमा वार्षिक औषत एक लाख विदेशी श्रमिक माग गर्दै आएकोमा यस वर्ष कोरियाले सबै देशबाट एक लाख ६० हजारभन्दा बढी श्रमिक लैजाने जनाएको छ । नेपालबाट हाल कोरिया जाने प्रक्रिया पूरा गरेका हजारौं युवा रोष्टर (प्रतिक्षा) सूचीमा रहेका छन् । आगामी दिनमा आवेदकले आफूले चाहेको उत्पादनमूलक, कृषि तथा पशुपालन, सिप बिल्डिङ, सेवा क्षेत्र र पछिल्लो समय वन क्षेत्रमा आवेदन दिन सक्ने छन् ।
शाखाले धेरै क्षेत्रका लागि एकै पटक आवेदन माग गर्दा कोटा समेत बढी आउने र सबैले क्षेत्रानुसार आवेदन दिन सक्ने जनाएको छ । आगामी वर्षदेखि भने सबै क्षेत्रको आवेदन एकै पटक आह्वान गर्ने भएकाले एक आवेदकले आफूले चाहेको क्षेत्रमा मात्र आवेदन दिन सक्ने छन् । यसरी आवेदन माग गर्दा कोरियाले लैजान चाहेको संख्याको ३ गुणा बढीको नाम रोष्टरमा रहने गरी व्यवस्थापन गरिने छ ।
यसैगरी रोष्टरमा रहेने संख्याभन्दा ३ गुणा बढीको परीक्षा आवेदन माग गरिने छ । कृषि तथा पशुपालन, उत्पादन, सिप बिल्डिङ तथा सम्भावित सेवा क्षेत्रको आवेदन एकै पटक खुल्ने गरी सूचना पठाउन नेपालले कोरियालाई अनुरोध गरेको भए पनि कोरियान पक्षबाट भने प्रतिक्रिया आएको छैन । अर्को वर्षदेखि कृषि क्षेत्रमा रोजगारीमा जान फारम भर्नेले उत्पादन मूलकलगायत अन्य क्षेत्रमा आवेदन दिन पाउने छैनन् । आवेदकले जुन क्षेत्रमा भरे पनि एउटामा मात्रै भर्न पाइने जनाइएको छ ।
यसअघि सन् २०२४ का लागि शीप बिल्डिङको परीक्षामा सहभागी भएकाहरू उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन नपाउने भएपछि युवाहरू विरोधमा उत्रिएका थिए । त्यस क्रममा बालकुमारीमा भएको झडपमा दुई जनाको ज्यान समेत गएको थियो । यो घटनाले निकै ठूलो तरंग ल्याएपछि शाखाले यस्ता समस्या दोहोरिन नदिन एकै पटक आवेदन खुलाउने र एउटा क्षेत्र मात्रै रोज्न पाउने व्यवस्था गर्ने भएको हो । परीक्षा आवेदन खुलाउँदा माग, रोष्टरमा रहने संख्या र कोरियाले लैजाने संख्याको आधारमा आवेदन पूरा भएपछि स्वत अनलाइन आवेदन प्रणाली बन्द हुनेछ ।