Logo

एनएमसीले निर्यात गर्‍यो साढे ११ करोडको चिया

बिर्तामोड– झापाको मेचीनगर–६ काँकडभिट्टामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले तीन लाख ६४ हजार ४४ किलो तयारी चिया निर्यात गरी ११ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चिया व्यवसायमा १३ करोड रुपैयाँ लगानी गरी इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएर तयारी चिया उत्पादन गरिरहेको संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले बताए । सूर्योदय र माइजोगमाई पालिकाका संस्थामा आवद्ध तीन सय ५० जना चिया किसानहरुले उत्पादन गरेको हरियो पत्ती खरिद गरी चिया प्रशोधन कारखानामा ल्याएर तयारी चिया उत्पादन गरिरहेको उनले जानकारी दिए ।

संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको बताउँदै उनले उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी ९० प्रतिशत भारत निर्यात हुँदै आएको जनाए । संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेको पाण्डेले बताए ।

यसले गर्दा बिचौलिया प्रथाको अन्त्य हुनुका साथै समयमै उचित मूल्य पाउँदा किसानलाई समेत लाभ भएको उनको भनाइ छ । चियाखेती गर्ने किसान सहकारीका सदस्य भएकाले उनीहरुले चियाखेती गर्ने र संस्थाले किसानहरुसँग हरियो पत्ती किनेर तयारी चिया उत्पादन गर्ने उनले बताए । हावापानीका दृष्टिले इलाममा उत्पादित चियालाई अब्बल मानिने हुँदा त्यहाँ उत्पादित हरियो पत्ती संस्थाले खरिद गर्दै आएको छ ।

चिया व्यवसायमा मौसमी र नियमित गरी ५२ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए । संस्थाले पहिलोपल्ट आर्थिक वर्ष २०७८/०७९ मा ७१ लाख २२ हजार मूल्यको १९ हजार ७ सय ९५ किलो चिया भारत निकासी गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा दुई करोड दुई लाख २०८०/०८१ मा चार करोड ७९ लाख र चालु आर्थिक वर्ष २०८१/०८२ को कात्तिक मसान्तसम्ममा तीन करोड ९० लाखको तयारी चिया निर्यात भएको उनले जानकारी दिए ।

बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी सुपरमार्केट सञ्चालन गरिरहेको संस्थाले चिया व्यवसायको क्षेत्रमा हात हालेपछि चिया किसानहरु लाभान्वित भएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बताए । बिगत दुई वर्षदेखि किसानहरुले चिया खेतीमा रासायनिक मलको प्रयोग नगरेको बताउँदै उनले किसानहरुलाई अर्गानिक विधिबाट खेती गर्न संस्थाले प्रोत्साहित गरिरहेको जनाए ।

कोशी प्रदेशका झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेकाले संस्थाले चिया खेतीलाई प्रोत्साहित गरिरहेको उनको भनाइ छ । झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको संस्थाले चिया उत्पादन, बचत तथा ऋण, डेरी उद्योग, कृषि फार्म र सहकारी पसल सञ्चालन गरिरहेको उनको भनाइ छ ।

चिया व्यवसायअन्तर्गत संस्थाले पहिलेदेखि नै अर्थोडक्स चियाअन्तर्गत ‘ग्रीन टी’ र ‘ब्ल्याक टी’ बजारमा ल्याएको र अहिले सिटिसी चिया प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएर अर्थोडक्स चियाका पारखीको मागअनुसार नै उद्योगले सिटिसी चिया बजारमा ल्याएको निवर्तमान अध्यक्ष उप्रेतीले बताए । एनएमसीका चिया नेपाली बगानबाट उत्पादित, उत्कृष्ट, गुणस्तरीय र ताजा रहेको भन्दै उनले यसको उत्पादन र प्रशोधनमा चिया विज्ञको परामर्श लिई प्रयोगशाला परीक्षण गरेर मात्र बजारमा ल्याएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्