Logo

डलर सञ्चिति ब्याजका लागि प्रयोग

काठमाडौं– केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा अहिले डलर सञ्चितिको ट्रेण्ड बढ्दो क्रममा छ । चालु आवको असोजसम्ममा १६ अर्ब ६० करोड अमेरिकी डलर नेपालको बैंकिङ प्रणालीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको यस्तो सञ्चिति असोजसम्ममा ८.७ प्रतिशतले बढेको हो ।

हरेक महिना डलर सञ्चिति बढ्दै जाँदा यसको सदुपयोगबारे बहस हुन थालेको छ । डलर सञ्चितिलाई आयातको भुक्तानी दिने, अध्ययन र भ्रमणका लागि खर्च गर्ने मात्र होइन, अन्य क्षेत्रमा पनि प्रयोग गर्न अर्थशास्त्रीहरुले जोड दिँदै आएका छन् । तर, सरकारले उचित नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नसक्दा सञ्चिति अधिकतम प्रयोग हुन सकेको छैन । यसको प्रयोग गर्न पाउने अवसरबाट राज्य वञ्चित भइरहेको विज्ञहरूको भनाइ छ ।

असोजसम्मको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनियम सञ्चिति असार मसान्तको तुलनामा ७.५ प्रतिशत बढेर १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा २६.९ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ ।

यो वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । हरेक महिना मुलुकमा डलर सञ्चिति बढ्नुमा पछिल्लो समय बढिरहेको रेमिटेन्स मुख्य कारण भएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल बताउँछन् । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा अमेरिकी डलरमा रेमिटेयन्स ३ अर्ब ४ करोड पुगेको छ । साथै नेपालको पर्यटन क्षेत्र चलायमान हुँदा पनि डलर सञ्चिति बढिरहेको पोखरेल बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाको डलर सञ्चिति विभिन्न शीर्षकमा हुने भएकाले यो सबै सञ्चिति चलन गर्न पाउने अवस्था नहुने जानकारहरू बताउँछन् । उनीहरूले विदेशी बैंकमा लगेर पैसा राखेर ब्याज लिइरहेका हुन्छन् । उनीहरूले आफूसँग भएको विदेशी विनियम सञ्चितिलाई राष्ट्र बैंकमा राख्न पाउने विकल्प हुन्छ । साथै त्यसबाहेक विदेशमा पनि बचतमा राख्न पाउँछन्, जसबाट उनीहरूले ब्याज लिन्छन् । तर, यस्तो ब्याज थोरै हुने भएकाले त्यो राखेर त्यहाँबाट ठूलै आम्दानी हुन्छ भन्ने नहुने पोखरेल बताउँछन् ।

केन्द्रीय बैंकको बचतमध्ये मुख्य स्रोत नै डलर सञ्चितिबाट प्राप्त रकम नै रहेको सहप्रवक्ता पोखरेलको भनाइ छ । उनले भने, ‘डलर सञ्चिति प्रशस्त छ । यसबाट डलरमै वा नेपाली रुपैयाँमै लगानी गर्दा पनि लगानीका क्षेत्रहरू धेरै छन् ।’ सञ्चिति थुपारेर ब्याजमात्र खाने भन्दा पनि उत्पादनमूलक क्षेत्रतर्फ लगानी गर्न सकिने उनी बताउँछन् । अहिले निर्माण क्षेत्र, घरजग्गा लगायतका क्षेत्र सुस्ताएका कारण आयात घटिरहेको छ । ‘बाहिरबाट पैसा आइरहने तर आयात घटिरहने हुँदा लिकेज बन्द हुन्छ । जसले पैसा थुप्रिँदै जान्छ,’ उनले भने । अहिले आयात नहुँदा कर्जाको माग पनि हुन नसकेको उनी बताउँछन् । निजी क्षेत्रले पर्याप्त मात्रामा कर्जाको माग नगर्दा डलर सञ्चिति बढेको उनले बताए । उनले भने, ‘जुनसुकै क्षेत्र चलायमान बनाउनका लागि पनि आयात त हुनैपर्छ । निर्माण क्षेत्र चलायमान बन्ने हो भने त्यसका लागि चाहिने निर्माण सामग्री आयात गर्छौं, त्यसबाट डलर सञ्चिति घट्दै जान्छ,’ पोखरेलले भने ।

पूर्व बैंकर पर्शुराम क्षेत्रीले बैंकमा डलर बचतसमेत गरिने भएकाले डलरको अवस्थाबारे हेर्नुपर्ने बताए । ‘कसैले विदेशी मुद्रामा बचत गर्ने मानिसको रकम लिएर त्यो बचतलाई तत्कालै लगानी गर्ने भन्ने अवस्था नहुन सक्छ,’ उनले भने, ‘किनकी डलरको भाउ घटबढ भइरहने हुँदा त्यसले जोखिम बढाउन सक्छ । त्यसकारण डलरमै बचत गर्छु भन्ने अवस्था हुन्छ ।’ त्यसको आधारमा नै डलर सञ्चिति धेरै भयो र प्रयोग गर्नुपर्छ भन्ने अवस्था सधैं हुन्छ भन्ने नहुने उनी बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष एवम् एनएमबि बैंकका सिईओ सुनिल केसी बैंकहरूसँग रहेको डलर सञ्चिति निकै कम हुने र त्यो केन्द्रीय बैंकमै प्रायः राखिने गरेको बताउँछन् । यसलाई प्रयोग गर्ने भन्दा पनि अर्थतन्त्र चलायमान बन्दै जाँदा त्यो घट्दै जाने उनले बताए । उनले भने, ‘हामीसँग थोरै मात्र डलर सञ्चिति हुन्छ । त्यो हामीले राष्ट्र बैंकलाई नै दिने गर्छौं । कतिपय कर्जा दिन सकिन्छ, विभिन्न होटल वा डलर आवश्यक पर्नेले यसलाई लिन सक्छन् ।’

डलर टिआर कर्जा दिने, होटललाई कर्जा दिने, बचतको रूपमा लगेर राख्ने लगायतको माध्यमबाट अहिले सञ्चिति व्यवस्थापन गरिएको उनले बताए । सरकारले पुँजीगत खर्च बढाउने खालका मेसिन लगायतका सामग्री किनेर ल्याउने भएमा पनि डलर खर्च हुने उनको भनाइ छ । उनले भने, ‘अहिले आयात जति हुन्छ, त्यसकै हाराहारीमा रेमिटेन्स आइरहेको छ, त्यसले पनि सञ्चिति बढिरहेको छ ।’ आयात बढ्दै जाँदा डलर सञ्चिति विस्तारै कम हुँदै जाने उनले बताए ।

पूर्वबैंकर अनलराज भट्टराईले डलर सदुपयोग गर्नका लागि कतिपय कानुन संशोधन गरेर जानुपर्नेमा जोड दिए । उनले भने, ‘कुनै किसिमका बण्डहरू जारी गरेर त्यसको सदुपयोग गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्