व्यवसायीको अग्रसरतमा थोक बजार «

व्यवसायीको अग्रसरतमा थोक बजार

चितवनमा व्यवसायीको अग्रसरतामा व्यवस्थित फलफूल तथा तरकारी थोक बजार निर्माणकार्य सुरु भएको छ । लायन्सचोकस्थित फलफूल तथा तरकारी बजारलाई स्थानान्तरण गर्न व्यवसायी अग्रसर बनेका हुन् ।
भरतपुर–२ क्षेत्रपुरस्थित रामेश्वर मन्दिर हुँदै बसेनी निस्कने सडक खण्डमा झण्डै ३ बिघा जग्गामा सुविधासम्पन्न सटर निर्माणकार्य थालिएको छ । फलफूल तथा तरकारी थोक व्यवसायी संघमा आबद्ध व्यवसायीले सेयरमार्फत आर्थिक स्रोत जुटाएका छन् । कृषि प्रवद्र्धन बजार विकास प्रालि संस्था गठन गरेर सोहीमार्फत व्यवसायीले थोक बजार निर्माण गर्न लागेका हुन् । “झण्डै ६ गुणा बढी क्षेत्रफलमा बृहत् थोक बजार निर्माण गर्न लागेका छौं,” उनले भने, “अबको दसैसम्ममा हामी नयाँ ठाउँमा व्यवसाय सञ्चालन गर्दैछौं ।” प्रत्येक व्यवसायीबाट १० लाख रुपैयाँ बराबरको सेयर बाँडेर आर्थिक स्रोत जुटाएका छन् । “१२ वाइ ३० फिटका सटर बन्नेछन्,” उनले भने, “प्रयाप्त खुल्ला ठाउँ हुनेछ, सवारी तथा उपभोक्ता सहज रूपमा बजार आउने वातावरण बनाउँदैछौं ।” उनका अनुसार हाल १६ वर्षका लागि भाडामा लिइएको सो जग्गामा सटर निर्माण कार्य भइरहेको छ । जग्गा सम्याउनेलगायतका काम भइसकेको छ ।
“झण्डै २४ वर्षसम्म साँघुरो क्षेत्रमा व्यवसाय सञ्चालन गर्येउ , पटकपटक महानगरले भाडा बढाउँदा निकै सास्ती पनि खेप्यौं,” उनले भने, “अब त्यस्तो हुने छैन, थोक बजारले अब गति लिनेछ ।” १५० वटा ठूला सटर बन्नेछन् । उनका अनुसार पहिलो चरणमा थोक बजार निर्माणमा ५ करोड खर्च हुनेछ । त्यसपछि थोक बजारमा पिच, पार्किङ, बगंैचालगायतका पूर्वाधार गर्न थप ५ करोड खर्च लाग्ने अनुमान छ । थोक बजार सञ्चालन हुँदै आएको लायन्सचोकको बजारबाट २०७५ असार मासन्तसम्म स्थानान्तरण गरिसक्न महानगरले अन्तिम मौका दिएको छ । यसअघि महानगरले सो थोक बजारमा बढी भाडा दर कायम गर्दै टेण्डर आव्हान गर्दा व्यवसायी आन्दोलित हुने गरेका थिए । “नयाँ थोक बजारमा महानगरले पनि बाहिरी पूर्वाधार विकासमा सहयोग गर्नेछ,” भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भने, “सो बजारसम्म पुग्ने सडक स्तरोन्नति, पुल निर्माण, सडक बत्ती व्यवस्थापमा सहयोग गर्नेछौं ।” उनले हाल रहेको थोक बजारमा बहुउद्देश्यीय भवन निर्माण गर्न सहरी विकास मन्त्रालयमार्फत अध्ययनको काम भइरहेको जानकारी दिए । “करिब १ अर्ब लगानी हुँदैछ, बहुवर्षीय योजनाअनुसार नै हालको थोक बजारमा व्यावसायिक कम्पलेक्स बन्नेछ,” उनले भने, “नयाँ थोक बजार व्यवसायीकै अग्रसरतामा बन्दैछ, हाम्रो पनि सहयोग हुनेछ ।”
लायन्सचोकको थोक बजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको छ । साँघुरो स्थानमा रहेको थोक बजारमा किसानले उत्पादित कृषि उपज कमै ल्याउने गर्छन् । किसानकै खेतमै पुगेर व्यवसायीले किनेर लैजाने क्रमसमेत बढेको छ । नयाँ थोक बजार सञ्चालनमा आएपछि स्वयं किसानले नै बिक्रिका लागि उत्पादित कृषि उपज पुराउने अवसरसमेत पाउनेछन् । हाल सञ्चालनमा रहेको लायन्सचोकस्थित फलफूल तथा तरकारी थोक बजार २०५० सालदेखि सञ्चालनमा आएको थियो । शहिदचोक आसपासमा छरिएर रहेका फलफूल तथा तरकारी पसललाइ एकीकृत गर्दै तत्कालीन भरतपुर नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको करिब १० कट्ठा क्षेत्रफलमा दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै व्यवसाय सञ्चालनमा ल्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्