नेपालको सार्वभौम ‘कन्ट्री रेटिङ’ ले निजी क्षेत्रको लगानी र मनोबल बढ्छ
काठमाडौं- पहिलोपटक भएको सार्वभौम रेटिङमा नेपालले असाध्यै राम्रो रेटिङ पाएको छ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सार्वजनिक प्रतिवेदनले नेपालले राम्रो रेटिङ पाएको जनाएको हो ।
फिच रेटिङ्सले गरेको रेटिङमा नेपाललाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको हो । दक्षिण एशियाली मुलुकहरूमध्ये भारत बाहेक अन्य देशको भन्दा राम्रो रेटिङ पाएको छ । फिचले नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा नेपाललाई उत्कृष्ट रेटिङ प्रदान गरेको छ ।
नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको छ । क्रेडिट रेटिङको नतिजाले नेपालको क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको देखाएको छ । अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्युन व्याजदरमा ऋण प्राप्त गर्नसक्ने अवस्था सिर्जना गरेको र निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिएको छ ।
अर्थमन्त्रालयमा सचिव डा. रामप्रसाद घिमिरेले सार्वभौम रेटिङमा नेपालले प्राप्त गरेको नतिजाले निजी क्षेत्रमा देखिएको निराशालाई माथि उकास्न मद्दत पुर्याउने बताए । उनले नेपालको अर्थतन्त्र सुधारको लागि रिफर्मका क्षेत्रहरु समेत संकेत गरेको भन्दै निजी क्षेत्र र सरकारलाई सुधारको लागि प्रेरित गरेको बताए । उनले नेपाल अर्थतन्त्रमा लगानी र अन्य अवस्थामा कुन स्थानमा रहेको छ भन्नेकुरा सार्वभौम रेटिङबाट निश्चित भएको बताए । उनले सार्वभौम रेटिङबाट प्राप्त नतिजाले विदेशबाट ल्याउने ऋणको लागत समेत कम हुने उल्लेख गरे ।
स्ट्याण्डर्ड चार्टड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखसमशेर जबराले नेपालले सार्वभौम ‘कन्ट्री रेटिङ’ मा पाएको ‘डबल बी माइनस’ नतिजाले विदेशबाट ल्याउने ऋणको लागत डेढ प्रतिशतसम्म घट्ने देखिएको बताए । उनले अहिले विदेशी ऋण दाताले नेपाली कम्पनीहरूलाई दिने ऋणमा ४ देखि ४.५ प्रतिशतसम्म जोखिम बापत प्रिमियम जोडिरहेको भन्दै अहिलेको रेटिङले १.५ प्रतिशतसम्म लागत प्रिमियम कम हुनसक्ने बताए । उनले ऋणको लागत घट्दा व्यावसायिक लागत कम पर्ने उल्लेख गरे । उनले ऋणको लागत दर आगामी दिनमा कम हुँदै जाने जानकारी दिए ।