स्थानीय तहमा ३ वर्षभित्र कालोपत्रे सडकः मुख्यमन्त्री गुरुङ «

स्थानीय तहमा ३ वर्षभित्र कालोपत्रे सडकः मुख्यमन्त्री गुरुङ

लमजुङ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशअन्तर्गतका सबै स्थानीय तहमा तीन वर्षभित्र कालोपत्रे सडक पु¥याउने बताएका छन् । लमजुङको राइनासअन्तर्गत नेपालडाँडा–बोराङखोला सडक स्तरोन्नती शिलन्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले प्रदेश राजधानी पोखराबाट प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तह प्रशासनिक केन्द्र र सदरमुकाम पुग्ने व्यवस्थित कालोपत्रे सडक बनाउने योजनामा प्रदेश सरकार लागीपरेको बताए । “८५ स्थानीय तहमध्ये करिव ३५ स्थानीय तहमा यसअघिनै सडक पुगिसकेको छ” मुख्यमन्त्री गुरुङले भने, “करीव ५० स्थानीय तहको मुख्य प्रशासनिक केन्द्रहरुमा आठ मिटर चौडा कालोपत्रे सडक पु¥याउने प्रदेश सरकारको प्राथमिकतासहितको योजना छ ।”
मुख्यमन्त्री गुरुङले एउटा निर्वाचन क्षेत्रमा एकभन्दा बढी स्थानीय तह जोड्ने स्तरीय सडक निर्माणपनि सुरु गरीसकेको बताए । सडक निर्माण भएमा मात्रै विकास र समृद्धिको ढोका खुल्ने दाबी गर्दै मुख्यमन्त्री गुरुङले निर्माण सुरु भएका सडकहरुमा कामको गुणस्तर र प्रभावकारीताको बारेमा जनप्रतिनिधि र आमजनता सचेत हुनेपर्नेमा जोड दिए । विकास निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीहरुले इमान्दारीपूर्वक समयमै काम सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन थियो ।
राईनास नगरपालिकाको मुख्य सडक मानिएको नेपालडाँडा बोराङ सडक कालोपत्रे गर्ने लक्ष्यसहित मुख्यमन्त्री गुरुङले शिलन्यास गरेका हुन् । १० किमी सडक कालोपत्रेका लागि प्रदेश सरकारले २८ करोड, ८४ लाख, ८३ हजार एकसय ८७ रुपैयाँ ५५ पैसा विनियोजन गरेको छ । उक्त सडक आगामी दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्नेगरी काठमाडौंको लामा कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरेको छ ।
सडक स्तरोन्नती शिलन्यास भएसँगै पूर्वी लमजुङको राइनास नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडक अब कालोपत्रे हुने भएको छ । नेपालडाँडाबाट बोरोङ्गखोलासम्म कालोपत्रे हुने भएपनि पहिलो चरणको काम धमिलिकुवा चोकबाट सुरु हुने जनाइएको छ । राइनास नगरपालिका र दुधपोखरी गाउँपालिकाको मुख्य मार्गको रुपमा रहेको उक्त सडक कालोपत्रे भएसँगै दुवै स्थानीय तह र छिमेकी जिल्ला गोरखाका नागरिकलाई पनि सहज हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्