Logo

बत्ती अनियमित हुँदा उपभोक्ता मर्कामा

जुम्ला– जुम्लामा एक सातादेखि बत्ती अनियमित हुन थालेपछि सर्वसाधारण मर्कामा परेका छन् । चुकेनी जलविद्युत आयोजना र राष्ट्रिय प्रसारण लाइनको दुवै बत्ती अनियमित भएपछि सर्वसाधारण मर्कामा परेका हुन् । जुम्ला सदरमुकामका लागि चुकेनी जलविद्युत आयोजनाको बत्ती केही महिनायता नियमित बल्दै आएको थियो ।

राष्ट्रिय प्रसारण लाइनभन्दा चुकेनीकै बत्तीले जुम्लालाई झिलिमिली बनाउने अपेक्षा गरिएको थियो । तर आयोजना सञ्चालन भएको एक वर्ष नबित्दै एक युनिट बिग्रिएर थन्किनु, चलिरहेको युनिटले बजारको लोडलाई नधान्नु र राष्ट्रिय प्रसारण लाइनको बत्तीमा भोल्टेज नै कम हुनुले जुम्लाका नागरिकले फेरि सास्ती खेप्नुपर्ने भएको छ ।

बिहान र साँझको अत्यावश्यक सयम ५ देखि ९ बजेको अवधिमा बत्ती नै नआउने गरेको छ । सदरमुकाममा विद्यार्थीको आगमन बढ्दो छ । हिउँदे अतिरिक्त पढाइको चटारो सुरु हुन थालेको छ । तर बत्ती भने अनियमित हुँदा पठनपाठनदेखि इलोक्टोनिक व्यवसाय र साना उद्योगी व्यवसायीलाई समस्या भएको उद्योग वाणिज्य संघका अध्यक्ष पुरिचन्द देवकाटा बताउँछन् ।

उनका अनुसार अघिपछि फालाफाल हुने बत्ती प्राय: हिउँदमा सधै समस्या हुने भएकाले सुधार गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्छ । प्राय: १० बजेपछि रातभरि आउने बत्ती आउने गरेको छ । एक सातायता किन बत्ती अनियमित भयो ? भन्ने प्रश्नमा विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाह भन्छन्, ‘चिसो बढेसँगै बत्तीको लोड पनि ह्वात्तै बढेका कारण बत्ती अनियमित भएको हो । चुकेनीको काम नगर्दा राष्ट्रिय लाइन जडान गर्नै समय लाग्ने र राष्ट्रिय प्रसारण लाइनमा पनि लो भोल्टेजका कारण बत्ती नै नआउने आए पनि मधुरो आउने समस्या छ ।’

चुकेनी जलविद्युत आयोजनाको दुवै युनिट सञ्चालन भएको खण्डमा जुम्लामा विद्युतको समस्या कहिल्यै नहुने प्रमख शाह बताउँछन् । उनका अनुसार १ मेघावाट क्षमताको चुकेनी जलविद्युत आयोजना हाल पाँच सय किलोवाटमात्रै सञ्चालन छ । तर आयोजना सञ्चालन भएको एक महिना नबित्दै चुकेनी विद्युत आयोजनाको एक युनिट बिग्रिएर थन्किएको छ । हालसम्म पनि मर्मत हुन सकेको छैन । उक्त युनिट सञ्चालन भएको खण्डमा जुम्लामा बत्तीको समस्या नहुने प्रमुख शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्