दाङमा माछापालन व्यवसायमा लगानी बढ्दै
दाङ– दाङमा माछापालन व्यवसायमा लगानी बढ्दै गएको छ । लगानी वृद्धिसँगै उत्पादनसमेत वर्षेनी बढ्दै गएको हो । किसानले वर्षेनी उत्पादन बढाउन थालेपछि दाङ माछामा आत्मनिर्भर बन्न पुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराही दाङले जनाएको हो । अहिले दाङमा उत्पादन भएका माछा निर्यात भइरहेको तथा कममात्रै आयात गर्नुपरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य अधिकृत प्रेमकुमार चौधरीले बताए ।
दाङमा व्यावसायिक रूपमा २० करोड बढीको लागतमा माछा उत्पादन भएको उनको भनाइ छ । ‘खपत र आयातको अवस्था तथा निर्यातको अवस्थालाई हेर्दा दाङ माछामा आत्मनिर्भर भएको देखिन्छ,’ उनले भने, ‘१२ महिनामा जाडोको एक महिना भने बढी उत्पादन हुँदा मूल्य कम हुने भएकाले किसान तथा व्यापारीले बाहिरबाट ल्याएर बेच्ने गरेको पनि पाइएको छ ।’ पशु स्वास्थ्य ऐन २०५५ र नियमावली २०५६ ले २०७७ को संशोधनअनुसार कानुनत: अवैध मानेको मंगुर माछा भने दाङमा देखिन छाडेको पनि उनी बताउँछन् ।
उनका अनुसार दाङमा सबैभन्दा धेरै रहु र नैनी जातको माछा उत्पादन हुन्छ भने त्यसपछि बैखा जातको माछा उत्पादन हुन्छ । कार्प जातिको ग्रास, कमन, सिल्भरलगायतका जात पनि उत्पादन हुँदै आएको छ । निल टिलापिया जातको माछाको पनि फाट्टफुट्ट उत्पादन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । माछापालन गर्न दोमट, चिम्टाइलो माटो उपयुक्त हुन्छ र सिमसार क्षेत्रमा पनि माछापालन राम्रो हुन्छ ।
दाङमा घोराहीको ५, १७, १६, १२ र ९ नम्बर वडा, तुलसीपुरको १०, १२, १४, १५ र १७ नम्बर वडा, दंगीशरणको ३ र ४ नम्बर वडा, लमहीको ३, ४, ५, ६ र ७ नम्बर वडा र गढवाको ३ र ४ नम्बर वडामा व्यावसायिक रूपमा माछापालन भइरहेको छ । माछा उत्पादनको हिसाबले मधेश प्रदेशपछि धेरै उत्पादन हुनेमा लुम्बिनी पर्छ । लुम्बिनीका १२ जिल्लामा पनि दाङ जिल्ला रुपन्देही, कपिलवस्तु, बर्दिया र बाँकेपछि पाँचौं नम्बरमा पर्छ ।
सबै पालिकामा माछा पालन
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जिल्लाका १० वटै पालिकामा माछापालन भइरहेको जनाएको छ । गत आर्थिक वर्षको रेकर्ड अनुसार सबैभन्दा धेरै लमही नगरपालिकामा माछा उत्पादन भएको छ । लमही नगरपालिकामा ५५ कृषक व्यावसायिक माछापालनमा छन् । माछापालन गर्ने १४९ पोखरी छन् भने गत आर्थिक वर्षमा १७१ दशमलव ५४४ मेट्रिक छन माछा उत्पादन भएको छ ।
घोराही उपमहानगरपालिकामा ५१ कृषक व्यावसायिक माछापालनमा छन् । माछापालन गर्ने १४१ पोखरी छन् भने गत आर्थिक वर्षमा १४४ दशमलव ८७१ मेट्रिक टन माछा उत्पादन भएको छ । तुलसीपुर उपमहानगरपालिकामा ५८ कृषक व्यावसायिक माछापालनमा छन् । माछापालन गर्ने ११४ पोखरी छन् भने गत आर्थिक वर्षमा १२५ दशमलव ५७२ मेट्रिक टन माछा उत्पादन भएको छ ।
गढवा गाउँपालिकामा १४ कृषक व्यावसायिक माछापालनमा छन् । माछापालन गर्ने ४४ पोखरी छन् भने गत आर्थिक वर्षमा ७२ दशमलव ४७८ मेट्रिक टन माछा उत्पादन भएको थियो । राप्ती गाउँपालिकामा ४९ कृषक व्यावसायिक माछापालनमा छन् । माछा पालन गर्ने १७३ पोखरी छन् भने गत आर्थिक वर्षमा ४० दशमलव २७१ मेट्रिक टन माछा उत्पादन भएको थियो ।
त्यसैगरी दंगीशरण गाउँपालिकामा १५ कृषक व्यावसायिक माछापालनमा छन् । माछापालन गर्ने ५० पोखरी छन् भने गत आर्थिक वर्षमा २८ दशमलव २९४ मेट्रिक टन माछा उत्पादन भएको थियो । शान्तिनगर गाउँपालिकामा २१ कृषक व्यावसायिक माछापालनमा छन् । माछा पालन गर्ने २९ पोखरी छन् भने गत आर्थिक वर्षमा १७ दशमलव ७८२ मेट्रिक टन माछा उत्पादन भएको थियो ।
बबई गाउँपालिकामा ११ कृषक व्यावसायिक माछापालनमा छन् । माछापालन गर्ने १८ पोखरी छन् भने गत आर्थिक वर्षमा चार दशमलव ९६८ मेट्रिकटन माछा उत्पादन भएको थियो । राजपुर गाउँपालिकामा ६ जना कृषक व्यावसायिक माछापालनमा छन । माछा पालन गर्ने नौवटा पोखरी छन् भने गत आर्थिक वर्षमा सात दशमलव ४२६ मेट्रिक टन माछा उत्पादन भएको थियो ।
बंगलाचुली गाउँपालिकामा तीन कृषक व्यावसायिक माछापालनमा छन् । माछापालन गर्ने सात पोखरी छन् भने गत आर्थिक वर्षमा दुई दशमलव ७१९ मेट्रिक टन माछा उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ४८९ दशमलव सात मेट्रिक टन उत्पादन भएको माछा आर्थिक वर्ष २०७७/०७८ मा ५९६, आर्थिक वर्ष २०७८/०७९ मा ६०९ मेट्रिक टन उत्पादन भएको छ भने आर्थिक वर्ष २०७९/०८० मा ६११ मेट्रिक टन माछा उत्पादन भएकोमा गत आर्थिक वर्ष ६१५ मेट्रिक टनभन्दा धेरै माछा उत्पादन भएको छ ।
दाङमा विगत वर्षको तुलनामा माछापालक कृषक पनि बढेका छन् । आर्थिक वर्ष २०७७/२०७८ मा २४७ रहेका माछापालक कृषक २०७८/०७९ मा २८२ पुगे भने आर्थिक वर्ष २०७९/०८० मा तीनजना व्यावसायिक कृषक थपिएर २८५ पुगे । गत आर्थिक वर्षमा भने दुईजना कृषक घटेर २८३ जना रहेका छन् । कृषक घटे पनि माछा उत्पादन र माछापालन गर्ने जलाशय क्षेत्र भने बढ्ने क्रममा छ ।
आर्थिक वर्ष २०७७/२०७८ मा माछापालन गर्ने क्षेत्रफल १४० दशमलव २३ हेक्टर भएकोमा २०७८/०७९ मा बढेर १९२ दशमलव चार पुगेको छ । आर्थिक वर्ष २०७९/०८० मा १९५ दशमलव दुई हेक्टर जलाशयमा माछापालन गरिएकोमा गत आर्थिक वर्षमा भने ११७ दशमलव ७७ हेक्टरमा माछापालन गरिएको थियो ।