पूर्वाधार निर्माणमा चार करोड खर्चिंदै सामाजिक विकास कार्यालय
जुम्ला– जुम्लाको सामाजिक विकास कार्यालयले पूर्वाधार विकासका लागि चार करोड बजेट लगानी गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले विद्यालय भवन निर्माण लगायतका पूर्वाधार विकासका लागि चार करोड बजेट लगानी गर्ने भएको हो ।
चालु आवमा स्वीकृत भएका कार्यक्रमको जानकारी गराउँदै सामाजिक विकास कार्यालयका प्रमुख तुलराज चौलागाईंले पूर्वाधार निर्माणमा लगानी हुने गरी पुँजीगततर्फ चार करोड विनियोजन भएको बताए । करिब दुई करोड चालु र पुँजीगत चार करोड विनियोजन भएको छ । उनले भने, ‘हाम्रो कार्यालयले दोहोरो काम गरिरहेको छ । एकातिर सामाजिक सशक्तिकरण जनचेतनामूलक काम र अर्कोतिर पूर्वाधार विकासका काम पनि छन् । लाखौंका विद्यालय भवन जिल्लाभर हाम्रै मातहतमा बन्दै छन् ।’
सामाजिक सशक्तिकरणतर्फ अल्पकालिन आश्रयसहितको सेवा केन्द्र सञ्चालन व्यवस्थापन, ज्येष्ठ नागरिक संघ सञ्चालन तथा व्यवस्थापन, लागु औषध दुव्र्यसनीसम्बन्धी सचेतनामूलक कार्यक्रम, जोखिममा रहेका बालबालिकालाई सहयोग, छोरी बुहारी र अपाङ्ग छात्रवृत्ति वितरण लगायतका कार्यक्रम रहेका छन् भने पूर्वाधार विकासतर्फ विद्यालय सुधार तथा शैक्षिक गुणस्तरको लक्ष्यसहित सुविधायुक्त भूकम्प प्रतिरोधी विद्यालय भवन बनाउने कार्य प्रमुख चौलागाईंले जानकारी दिए ।
कुन विद्यालयमा कति लगानी ?
जिल्लाका आठै पालिकाका विद्यालय समेटिने गरी भवन निर्माण गरिने छ । चालु आर्थिक वर्षमा तिला गाउँपालिका–९ स्थित महादेव मावि रुखेडाचौरको भवन निर्माणमा ३० लाख, तिला–८ स्थित देउराली मावि जुम्लाकोटको घेरबारका लागि १५ लाख, वडा नम्बर ३ मा रहेको सरस्वती मावि कुडारीको घेरबारमा १५ लाख बजेट लगानी गरिने छ ।
त्यस्तै हिमा गाउँपालिकाको रुपाकोट आधारभूत विद्यालय घेरबारका लागि १५ लाख, सिंजा गाउँपालिकाको मालिका मावि धाँपाको पक्की पर्खाल निर्माणमा ५० लाख, कनकासुन्दरी गाउँपालिकाको पाण्डवगुफा मावि घेरबारमा १५ लाख, कनकासुन्दरी मावि लुड्कुको होस्टेल निर्माणका लागि ५० लाख खर्च हुने भएको छ ।
यता, गुठिचौरको हिमाली रम्बा आधारभूत विद्यालयको भवन निर्माणमा १५ लाख, खड्कदेवी मावि मणिसाँघुको भवनको तल्ला थप्नका लागि २० लाख र त्रिभुवन मावि झारज्वालाको घेरबारका लागि २५ लाख खर्च हुनेछ भने तातोपानी–२ को प्रसिद्ध बाविराथान निर्माणका लागि १५ लाख, पातारासी– ६ उथ्र्रुमा रहेको महारुद्र आधारभूत विद्यालयको पर्खाल निर्माणमा २५ लाख, अपाङ्ग पुन:स्थापना तथा विकास केन्द्रको भवन निर्माणका लागि ५० लाख, चन्दननाथको कर्णाली मावि अनामनगरको शौचालय निर्माणका लागि २० लाख र चन्दननाथ–१० मा स्थित रत्नचुण्डेश्वर माविको भवन निर्माणमा एक करोड खर्च हुने सामाजिक विकास कार्यालयका सबइन्जिनियर प्रेमबहादुर शाहीले जानकारी दिए ।
जिल्लाभरको विशेषगरी सामुदायिक विद्यालयको पूर्वाधार विकासमा चार करोड लगानी हुने जनाइएको छ । पुँजीगत बजेटको प्रभावकारी कार्यान्वयन र गुणस्तर संरचना निर्माणमा ध्यान दिन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सुझाब दिएका छन् । उनले जिल्लामा पूर्वाधारका क्षेत्रमा धेरै काम गर्नुपर्ने भए पनि प्रदेशले बजेट न्यून पठाएकाले आवश्यकतामा आधारित योजना पठाउने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए ।