Logo

रारा गाउँमा फल्यो तीन करोडको सिमी

जुम्ला– जुम्लाको तिला गाउँपालिका–१ रारा गाउँमा यो वर्ष तीन करोड रुपैयाँको सिमी उत्पादन भएको छ । जुम्लामा स्याउपछि प्रमुख नगदे बालीका रुपमा रहेको सिमी उत्पादन यो वर्ष बढेको हो । तिला–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतका अनुसार यो वर्ष रारा गाउँमा मात्रै तीन करोडको सिमी फलेको छ ।

विगतमा ८ क्विन्टलभन्दा बढी सिमी फलाउन नसकेका रारा गाउँका किसानले यो वर्ष १५ क्विन्टल सिमी उत्पादन गर्न सकेका छन् । सुक्खा गाउँमा सिँचाइको सुविधा पुर्‍याउन र उत्पादन बढाउन चालु आवमा वडाले ३० लाख बजेट विनियोजन गरेको छ । सिँचाइको सुविधा नहुँदा यहाँका किसानलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो ।

कुल २९० घरधुरी रहेको रारागाउँमा कृषिबाटै जीविकोपार्जन हुने गरेको छ । गाउँमै पुगेका व्यापारीले प्रतिकिलो दुई सय रुपैयाँका दरले सिमी खरिद गरिरहेका छन् । धान उत्पादन नहुने तिलाका रारा, जुम्लाकोट, रासा र मालापानीका किसानले चामलसँग पनि सिमी साट्ने गरेका छन् । २५ किलो (एक बोरा) सिमी दिएबापत दुई बोरा चामल लिने गरिएको राराका स्थानीय नरबहादुर रावतले जानकारी दिए ।

वडालाई सिमी उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न किसानले माग गरेका छन् । गाउँका किसानलाई लक्षित गरेर एक गाउँ एक उत्पादनको रणनीति ल्याएर स्थानीय तहले काम गरिरहेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए । ‘तिला कृषिमा निर्भर पालिका हो । स्याउ र सिमी खेतीमा यहाँका किसान बढी अग्रसर रहेका छन् । उक्त वडाको मुख्य आम्दानी सिमी र स्याउ हो । अब सिमी र स्याउ खेती थप प्रवद्र्धन गर्न गाउँपालिकाले किसानलाई अनुदान उपलब्ध गराउने छ,’ उनले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले तिला– १ रारालाई सिमी जोनका रुपमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । तिलाका वडा नम्बर १ सहित २, ८ र ९ को आठ सय हेक्टर क्षेत्रफलमा सिमीको व्यावसायिक उत्पादन गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख खेमराज शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्