भेरीगंगाका पाँच विद्यालयमा भर्चुअल सिकाइ «

भेरीगंगाका पाँच विद्यालयमा भर्चुअल सिकाइ

सुर्खेतको भेरीगंगा नगरपालिकाले नगरभित्रका विभिन्न पाँच विद्यालयमा भर्चुअल शिक्षा सिकाइ सुरु गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा शारदा मावि छिन्चु, शिखर मावि रामघाट, प्रभात मावि थानिचौर, जनज्योति मावि झिन्नी र नेरा मावि लोदेले कक्षा दशमा भर्चुअल सिकाइ सुरु गरेका हुन् ।
विद्यालय शिक्षाको गुणस्तर, व्यवस्थापन र आधुनिक प्राविधि भित्र्याउन कर्णाली प्रदेशको सुर्खेतमा मात्र नभएर नेपालमै पहिलो अभ्यास सुरु गरिएको भेरीगङ्गा नगरपालिकाका उपसचिव तथा युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले बताए । उनले भर्चुअल क्लासका माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीले धेरै ज्ञान हासिल गर्न सक्ने भएकाले भर्चुअल सिकाई सुरु गरिएको बताए ।
माविस्तरका शिक्षकको व्यवस्था हुन नसकेका विद्यालयमा भर्चुअल कक्षा उपयोगी बन्नुका साथै शिक्षक बिदामा बसेका बेला पनि विद्यार्थी त्यत्तिकै बस्न नपर्ने भएकाले यस्तो सिकाइ उपयोगी हुने उनको भनाइ छ ।
एक दशकअघिसम्म शिक्षकले कक्षा कोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो ।
गाउँ–गाउँमा इन्टरनेटको विस्तारसँगै भर्चुअल क्लासबाट अब भने अध्ययन अध्यापनमा परिवर्तन आएको छ । शिक्षकले पढाएको विषय सही वा गलत के हो, ग्रामीण भेगका विद्यार्थीले पनि थाहा पाउन र थप ज्ञान आर्जन गर्न सक्ने भएका छन् । विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले प्रविधिमैत्री कक्षा शुरु गरेसँगै कर्णाली प्रदेशमै पहिलो पटक भेरीगंगाले सुरु गरेको हो । नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतको उपस्थितिमा भर्चुअल शिक्षा सिकाइको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्