सार्वभौम रेटिङमा भारतबाहेक दक्षिण एसियामा नेपाल अगाडि
काठमाडौं– नेपालमा पहिलो पटक गरिएको सार्वभौम रेटिङमा नेपालको अवस्था राम्रो देखिएको छ । विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एएटा फिच रेटिङ्सले नेपाललाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जुन दक्षिण एसियाली मुलुकमध्ये भारतबाहेक सबैभन्दा राम्रो हो ।
नेपालले पाएको रेटिङ भारतको भन्दा दुई स्थान तलको हो, तर अन्य दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा राम्रो हो । पहिलो पटक भएको रेटिङमा यस्तो स्थान प्राप्त गर्नु ऐतिहासिक भएको चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईले बताए ।
अर्थ मन्त्रालयका अधिकारीहरूले पनि रेटिङ निकै सकारात्मक आएको बताएका छन् । फिचले नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा यस्तो रेटिङ दिएको हो ।
नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि फिच क्रेडिट रेटिङ कम्पनीको टोली गत भदौमा नेपाल आएको थियो । अल्पकालीन रूपमा नेपालको अर्थतन्त्र स्थिर रहने विश्लेषणको आधारमा यो ग्रेड पाएको हो । नेपालमा राजनीतिक अस्थिरताका कारण योभन्दा माथिको रेटिङ पाउन नसकेको भट्टराई बताउँछन् । उनका अनुसार अहिले पाएको डबल बी प्लससम्मको रेटिङ पहिलो पटक रेटिङ गरिएको आधारमा पाउनु सकारात्मक हो । उनले भने, ‘अब आगामी समयमा गरिएका रेटिङको स्तर थप बढ्दै जानेछ ।’
कन्ट्री रेटिङ कम्पनीहरुको क्रेडिट रेटिङ गरेजस्तै रेटिङ हो, तर यो भने कुनै मुलुक वा सार्वभौम निकायको मात्रै गरिन्छ । सार्वभौम रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउन सक्ने जोखिमहरुबारे जानकारी दिन्छ, त्यसमा राजनीतिक जोखिम पनि पर्छ । यसले कुनै देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सीले त्यो मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र त्यसलाई रेटिङ प्रदान गर्छ ।
यस्तै विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन् । अहिले नेपालले पाएको रेटिङले नेपालको ऋण तिर्ने क्षमतालाई सामान्य मान्यता दिए पनि आर्थिक जोखिमको संकेत भने देखाएको छ ।
कुनै मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बन्ड) जारी गरी ऋण उठाउनका लागि क्रेडिट रेटिङ अनिवार्य रुपमा चाहिन्छ । साथै मुलुकहरुले विदेशी लगानी आकर्षित गर्न पनि रेटिङ गराउँछन् । विश्वका ठूला एस एण्ड पी, फिच र मुडिजले सबैभन्दा राम्रो ‘एएए’ (ट्रिपल ए)देखि सबैभन्दा नराम्रो सी ग्रेडसम्म राखेर रेटिङ गर्ने गर्छन् । उनीहरुबीच रेटिङ प्रदान गर्ने तरिका थोरै भिन्न हुने गर्छ । जस्तै– सबैभन्दा नराम्रो अर्थात् टाट पल्टेको मुलुक वा निकायलाई मुडिजले सी रेटिङ दिन्छ भने एस एण्ड पीले एसडी र फिचले आरडी–डी रेटिङ दिन्छन् ।
त्यसमध्ये बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ भने त्यसभन्दा मुनि बी माइनससम्मको रेटिङलाई सट्टेबाजीको रेटिङ मानिन्छ । त्यसभन्दा मुनिको रेटिङलाई उच्च जोखिमयुक्त वा टाट पल्टिन सक्ने सम्भावना भएको मानिन्छ ।
जति खराब रेटिङ हुँदै गयो, त्यस्तो मुलुकले ऋण फिर्ता गर्न नसक्ने जोखिम बढी हुने वा लगानीको वातावरण खराब हुने मानिन्छ । क्रेटिङ रेटिङ गर्दा एजेन्सीहरुले ऋण तिर्ने अनुपात, आन्तरिक मुद्रा प्रदायको दर, आयात तथा निर्यातको दरलगायत धेरैवटा सूचकलाई हेर्छन् । फिचले नेपालको कमजोर राजस्व स्थिति, राजनीतिक अस्थिरता र आर्थिक संरचनामा सुधारको आवश्यकतालाई अध्ययन गरेर यस्तो रेटिङ दिएको हो ।
फिचले नेपालका केही आर्थिक सूचकलाई सकारात्मक रूपमा मूल्यांकन गरेको छ । कम ऋण भारलाई राम्रो पक्षका रूपमा लिएको छ । नेपालको सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत छ ।
सस्तो ब्याजदरमा बढी ऋण भएको, नेपालको बाह्य ऋणको धेरै हिस्सा सहुलियतपूर्ण दरमा भएकोले यसले देशलाई वित्तीय दबाबबाट बचाएको कुरा फिचले औंल्याएको छ । विदेशी मुद्रा सञ्चिति राम्रो भएको विषय पनि रिपोर्टमा उल्लेख गरिएको छ ।
रेमिटेन्सको अधिक निर्भरताले पनि दीर्घकाललाई समस्या पार्ने उल्लेख गरिएको छ । साथै नेपालले आफ्नो रेटिङ सुधार गर्न केही क्षेत्रहरूमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । राजनीतिक स्थिरतासँगै दीर्घकालीन आर्थिक नीति निर्माण गर्न फिचले सुझाव समेत दिएको छ । फिचले नेपालको आर्थिक स्थायित्व सुधार भएको उल्लेख गरेको छ ।