इथानोल ९९ र ९५ का कुरा
नेपालमा पुनः एकपटक पेट्रोलमा इथानोल मिसाएर बेच्ने चर्चा चलेको छ । यसपालिको चर्चा भने इथानोल ९५ र ९९ को नाउँमा भइरहेको छ । वस्तुतः इ. ९५ भनेको रेक्टिफाइड स्पिरिट हो । यसमा १ लिटरमा ९५ प्रतिशत मात्र अल्कोहल र ५ प्रतिशत पानी हुन्छ । यो रेक्टिफाइड स्पिरिटमा रहेको अल्कोहल र पानीको मात्रालाई अब सामान्य प्रक्रियाबाट छुट्ट्याउन सकिन्न । त्यसैले इ. ९९ वा पावर अल्कोहल, जसमा अल्कोहलको मात्रा ९९ प्रतिशत र पानीको १ प्रतिशत मात्र राख्न रेक्टिफाइड स्पिरिटमा बेन्जिनजस्ता तेस्रो यौगिक राखी पुनः डिस्टिलेसन गरिन्छ । त्यसबाट पानी र बेन्जिन छुट्टिन्छ र अल्कोहल ९९ प्रतिशतको हुन जान्छ ।
यो कथा २०४८-४९ सालदेखि सुरु हुन्छ । त्यस बेला नेकाको महाधिवेशनको तयारीका क्रममा पर्सा जिल्लाको अधिवेशनमा सर्वप्रथम मैले नै यो प्रस्ताव प्रस्तुत गरेको थिएँ, जुन जिल्लाबाट अनुमोदन भएर केन्द्रबाट पनि स्वीकृत भएको थियो । वर्ष त ठ्याक्कै सम्झना भएन, तर रामशरण महत अर्थमन्त्री हुँदा यसको अन्तःशुल्क प्रतिलिटरको तोक्ने र उत्पादन गर्ने कुरा बाहिरिएपछि श्रीराम सुगर मिल्स, गरुडाले पावर अल्कोहल प्लान्ट जडान गरी परीक्षण उत्पादन पनि गरेको थियो । तर, पावर अल्कोहललाई पेट्रोलमा मिसाउन बेग्लै र अत्यन्त संवेदनशील भण्डारणको व्यवस्था गर्नुपर्ने र त्यो गर्न नसकिने भनेर आयल निगमले असक्षमता देखाएकाले यो काम अगाडि बढ्न सकेन । पेट्रोलमा अल्कोहल मिसाउँदा गति नियन्त्रण नभएमा तापक्रम बढ्न गई दुवै ज्वलनशील हुने भएकाले विस्फोट हुने सम्भावना रहन्छ ।
अहिले श्रीराम उद्योगको त्यो संयन्त्र कुन अवस्थामा छ, थाहा छैन । २०४८-४९ मा उठान भएको राष्ट्रहितको कुरालाई २०६० मा राजपत्रमा मिश्रण गर्न सकिने व्यवस्था प्रकाशित गरेर २०८१ मा यसमा देखाइएको तत्परताले हाम्रो गतिशीलता पनि देखाउँछ ।
नेपालमा तत्कालका लागि दैनिक २ लाख लिटर पावर अल्कोहल आवश्यक पर्ने भनिएको छ, किनभने नेपालमा पेट्रोलको दैनिक खपत २० लाख लिटर छ । औद्योगिक स्तरमा नेपालमा अल्कोहलको उत्पादन चिनी बनाउँदा निस्कने खुदोबाट नै हुन सक्ने देखिन्छ । तसर्थ यसका लागि उखु खेती आवश्यक छ । एक अध्ययनले देखाएअनुसार नेपालका चिनी उद्योगले स्थापित क्षमताको २० प्रतिशत मात्रै प्रयोग गर्न सकेका छन् । भुक्तानी विलम्बका कारण कृषकहरू उखु खेतीतर्फ आकर्षित भइरहेका छैनन् ।
विभिन्न स्रोतबाट प्राप्त तथ्यांकअनुसार अहिले नेपालमा १ लाख ६० हजार मे.टन चिनीको उत्पादन भएको छ । जसका लागि ३३ हजार ५ सय ४३ हेक्टर जमिनमा खेती भएको मान्न सकिन्छ । तर, नेपालको वार्षिक आन्तरिक खपत २ लाख ७५ हजार मे.टन हुने अनुमानका आधारमा ५७ हजार ६ सय ५२ हेक्टर जग्गामा उखु खेती आवश्यक पर्नेछ । तर, नेपालको वर्ष २०७९-८० को कृषि डायरीमा उखु खेती गरिएको जमिनको क्षेत्रफल ६२ हजार ८ सय ३३ हेक्टर उल्लेख गरिएको छ, जसअनुसार ५३ मे.टन. उखु प्रतिहेक्टरका दरले नेपालमा ३७ लाख ६९ हजार ९ सय ८० मे.टन उखु उत्पादन भएको हुनुपर्ने हो र न्यूनतम प्रतिलब्धि प्रतिक्विन्टल ९ प्रतिशतबाट पनि गणना गर्दा ३ लाख ३९ हजार २ सय ९८ मे. टन चिनी उत्पादन हुनुपर्ने हो । त्यसैले कृषि डायरीको तथ्यांक भरपर्दो देखिँदैन । किनभने उत्पादन नै १ लाख ६० हजार मे.टन मात्र भएकाले भारतबाट चिनी आयात भएको हामी सबैले देखेका छौं ।
अर्को महत्वपूर्ण कुरा, उखु बहुवर्षे बाली हो । नयाँ उखु लगाउँदा त्यसलाई मरहन र एक वर्ष बाली काटिसकेपछि त्यसैलाई खुटी भन्ने चलन छ । मरहन उखु लगाएको पहिलो दुई वर्ष राम्रो उत्पादन हुन्छ भने तेस्रो वर्षदेखि घट्दै पाँचौं वर्षमा यो एकदम न्यून हुन्छ, त्यसपछि फेरि मरहन उखु लगाइन्छ । त्यसकारणले पावर अल्कोहल बनाउन उखुको सहायक उत्पादनका रूपमा निस्कने खुदो कच्चा पदार्थ हुने र यो पेलेको उखुको ३.५–४ प्रतिशत मात्र हुने भएकाले पाँचवर्षे बालीचक्रमा खुदो एकनासले प्रत्येक वर्ष उत्पादन हुँदैन । त्यसैले पावर अल्कोहल उत्पादनको गणना गर्दा खुदोको पनि पाँच वर्षको औसत परिमाणका आधारमा गर्नुपर्ने हुन्छ ।
इथानोल–९९ को प्रयोग पेट्रोलमा १० प्रतिशतसम्म गर्दा कुनै पार्टपुर्जा पनि फर्नु नपर्ने र प्रदूषणको हकमा कार्बन मोनोक्साइडको मात्रा धूवाँमा कम हुने भएकाले यो वातावरणमैत्री पनि मानिएको छ । देहरादूनस्थित भारतीय अटोमोबाइल अनुसन्धान केन्द्रले त पेट्रोलका साथै डिजेलमा समेत १० प्रतिशत मिसाई चलाउँदा इन्जिनमा कुनै परिवर्तन नै नगरी चलाउन सकिने अनुसाधानबाट देखिएको धेरै पछिको रिपोर्ट दिएको हो । जहाँसम्म इ. ९५ को कुरा छ, ब्राजिलमा यसको प्रयोग भएर सफलता प्राप्त भएको भए पनि यसबारे थप जानकारी प्राप्त गर्नु आवश्यक छ ।
गत १६ भदौको नयाँ पत्रिकाको पृष्ठ ९ मा यस सम्बन्धमा प्रकाशित समाचारअनुसार पेट्रोलमा अल्कोहलको मिश्रण अनलाइन ब्लेन्डिङ प्रविधिबाट गरिनेछ, तथापि भण्डारण त भ्याटहरूमा नै गर्नुपर्ने भएकाले तापक्रम अनुगमन र नियन्त्रण प्रभावकारी हुनु आवश्यक छ । यस समाचारमा पावर अल्कोहलको अपर्याप्तताको अवस्थामा ९५ प्रतिशत अल्कोहल भएको स्पिरिट प्रयोग गर्ने उल्लेख छ, जुन भनेजस्तो सजिलो छैन । इ. ९५ को मिश्रणबाट वाहन चालु गर्दा अल्कोहलमा रहेको ५ प्रतिशत पानीले अवरोध गर्न सक्ने र यसलाई सुचारु गर्न इन्जिनमा केही परिवर्तन आवश्यक पर्न सक्छ, जुन नेपाल र नेपालीको लागि अर्थमैत्री नहुन सक्छ ।
यो परियोजना साँच्चिकै सञ्चालनमा ल्याउँदा देशमा स्थापित डिस्टिलरीहरू पूर्ण क्षमतामा सञ्चालन हुनुका साथै थप नयाँ स्थापना हुने र यसबाट रोजगारी बढ्ने नै देखिन्छ । डिस्टिलरी नभएका चिनी उद्योगले भारत निर्यातका लागि त्यहाँ उखु उत्पादन न्यून हुने वर्षसम्म कुर्नुपर्ने समस्यासमेत अन्त्य हुनेछ । चिनी उद्योगबाट निस्कने खुदोको चिनीको मात्राअनुसार यसको स्तर निर्धारण हुन्छ । ५० प्रतिशत वा सोभन्दा बढी चिनी भएको ‘ए’ ग्रेड, ४१–४९ प्रतिशत ‘बी’ ग्रेड र सोभन्दा तल अर्थात् ४० प्रतिशत वा सोभन्दा तललाई ‘सी’ ग्रेड वर्गीकरण गरिन्छ । तर आजको आधुनिक प्रविधिबाट स्थापित हुने उद्योगले ९–११ प्रतिशतसम्म प्रतिलब्धि हासिल गर्ने सक्ने भएकाले यस्ता चिनी उद्योगबाट प्रायः ‘सी’ ग्रेड कै खुदो निस्कने गर्छ । यसबाट ब्याच फरमेन्टेसन प्राविधिको डिस्टिलरीमा २० लिटर प्रतिक्विटल खुदो र कन्टिन्युक्सबाट २४–२५ लिटर-क्विन्टलसम्म प्रतिलब्धि प्राप्त गर्न सकिन्छ ।