देवघाटको वेदवेदाङ स्कुललाई महालक्ष्मी बैंकद्वारा सहयोग

देवघाटधामको वेदवेदाङ स्कुललाई महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धक श्यामबावु तिमिल्सिनाले गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरिजी महाराजलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै गलेश्वर आश्रमका पिठाधिस आत्मनन्द गिरिजी महाराजले हरेक व्यावसायिक संस्थाहरुले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरे राष्ट्रले प्रगति गर्ने बताए । उनले महालक्ष्मी विकास बैंकले प्रस्तुत गरेको उदाहरण अरूले पनि अनुकरण गर्नुपर्ने बताए । सबैको हातेमालोका कारण नमुना गलेश्वर आश्रम र विद्यालयका रूपमा स्थापित भएको बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर आश्रमले सञ्चालन गरेको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको बैंकका शाखा प्रमुख श्यामबाबु तिमिल्सिनाले बताए । उनले बैंकले सामाजिक कामलाई निरन्तरता दिने भन्दै बैंक र गलेश्वर आश्रमको सम्बन्ध निरन्तर रहिरहने बताए । कार्यक्रममा देवघाट गाउँपालिका–५ का वडाध्यक्ष यालबहादुर गुरुङ, गलेश्वर आश्रम सञ्चालक समितिका सचिव तथा महालक्ष्मी विकास बैंकका पूर्वसञ्चालक समिति सदस्य प्रेमकुमार उलक, लायन्सचोक शाखा प्रवन्धक अजयकुमार सापकोटा लगायतले मन्तव्य राखेका थिए । गलेश्वर आश्रममा २ सय वृद्धवृद्धा आश्रित छन् भने आश्रमद्वारा नै देवघाट धमार्थ अस्पताल र वेदवेदाङ विद्यालय सञ्चालन गरिएको छ ।