११० हेक्टरमा खायन आलुको व्यावसायिक खेती
पर्वत– आलुलाई जिल्लाको मुख्य निर्यातजन्य कृषि उपजको रूपमा विकास गर्ने उद्देश्यले पर्वतमा यस वर्ष पनि खायन आलुको खेती विस्तार गरिने भएको छ ।
चालु आर्थिक वर्षमा जिल्लाभर ११० हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा खायन आलु उत्पादन गरिने भएको हो । गण्डकी प्रदेश सरकारको कृषि विकास निर्देशनालयबाट चालु आर्थिक वर्षमा आलुखेती विस्तारका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । सोही बजेटले जिल्लाका सातवटै पालिकामा गरी ११० हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा आलुखेती विस्तार गरिने कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
किसानलाई आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि यो कार्यक्रम लागु गरिएको हो । गत आर्थिक वर्ष विसं २०८०/०८१ मा १५२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । यसवर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले बजेट कटौती भएकाले क्षेत्रफलसमेत घटाइएको कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिए ।
गत आर्थिक वर्षमा खायन आलु विस्तारका लागि प्रदेश सरकारवाट तीन करोड विनियोजन भएको थियो । खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत जिल्लाभर ५४ वटा समूह तथा सहकारीमार्फत् आलुखेती लगाइने भएको छ । हिउँदे र बर्खे गरी दुई सिजनमा लगाइने आलु खेतीलाई जिल्लाको निर्यातयोग्य बालीको रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाभर तीन हजार ३५० मेट्रिकटन आलु उत्पादन भएको थियो ।
आलु निर्यातवाट झण्डै आठ करोड रुपैयाँ आम्दानी भएको केन्द्रले जनाएको छ । पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको राम्रो उत्पादन हुने गरेको छ । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेटिकटनसम्म उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिए । यसबाट उपभोगका लागि कृषकलाई खरिद गर्न नपर्नुका साथै बिक्रीवितरणबाट समेत राम्रो आम्दानी गरेको पौडेलले बताए ।
आलु खेतीमा लागेका कृषकलाई अनुदान रकमबाहेक ज्ञान केन्द्रले यान्त्रिकीकरणमा सहयोग, मल, बीउ र नियमित रूपमा प्राविधिक सल्लाह दिनुका साथै नियमित अनुगमन पनि गर्दै आएको छ । कृषकलाई ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउँदै आएको छ । कार्यक्रम सुरु हुनुपूर्व पनि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शालिजा, लेखफाँट, बनौ, बाँसखर्क र दक्षिणी भेगमा पर्ने भोक्सिङमा मुख्य बालीको रूपमा आलुखेती नै गरिँदै आएको थियो ।
पर्वतको १३ सय हेक्टर क्षेत्रफलमा आलु उत्पादन गर्न सकिन्छ । उक्त क्षेत्रफलमा १३ हजार ७७५ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीले जानकारी दिए । तर बढ्दो युवा शक्तिको पलायन, जनशक्ति अभाव, सिँंचाइ, प्रविधि, बजार अभावलगायतले निर्वाहमुखी मात्र खेती हुँदै आएको बेला गत वर्षदेखि व्यावसायिक रूपमा खेती थालिएको हो ।