कर्णालीमा मागअनुसार आयोडिनयुक्त नुनको कोटा कम
वीरेन्द्रनगर– कर्णालीमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा बिक्री हुँदै आएको आयोडिनयुक्त नुन सबै डिपोमा पठाउने क्रम जारी छ । सरकारले ढुवानी भाडा अनुदान दिएर कर्णालीका दुर्गम जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री हुँदै आएको छ ।
उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनको नुन पुग्ने क्रम जारी रहेको प्रदेश कार्यालय, नेपालगन्जका प्रमुख मनोज चौधरीले जानकारी दिए । चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी हुन नसकेको हो । कर्णालीका पुुरै र लुम्बिनीमा समेत आयोडिनयुक्त नुन नेपालगन्जबाट ढुवानी हुँदै आएको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष दुर भएको प्रमुख चौधरीले जानकारी दिए ।
कर्णालीका जिल्लामा प्रतिपोका ९ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ । ढुवानीमा अनुदान दिएका कारण उक्त नुन प्रतिकिलो ९ रुपैयाँ परेको उनले जानकारी दिए । डोल्पाको सदरमुकाम दुनैमा २५ सय क्विन्टल कोटामध्ये हालसम्म ११ सय क्विन्टल नुन पुगिसकेको छ । जुफाल डिपोमा पाँच सयमध्ये तीन सय क्विन्टल, काइगाउँमा तीन सय कोटामध्ये अहिलेसम्म नुन पुगेको छैन । त्यहाँ बाटोमै जादै गरेको प्रमुख चौधरीको भनाइ छ ।
त्रिपरासुन्दरीको लिकुमा तीन सय कोटा निर्धारण गरिएकोमा त्यहाँ पनि ढुवानी गरेर बाटोमै जादै गरेको उनले जानकारी दिए । मुडकेचुलाको सर्मीमा तीन सय क्विन्टलमा सबै नुन पुगेको प्रदेश प्रमुख चौधरीको भनाइ छ । तिन्जेमा १८ सय क्विन्टल कोटा निर्धारण गरेको भए पनि हालसम्म पुग्न नसकेको अवस्था छ । हुम्लाको सदरमुकाममा सिमीकोटमा १६ सय क्विन्टल कोटा निर्धारण गरिएकोमा हालसम्म ११ सय ५० क्विन्टल हुम्ला सदरमुकाममा पुगेको छ ।
याल्वाङ डिपोमा पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकोमा हालसम्म ढुवानी हुन सकेको छैन । सार्केगाडमा नौ सय क्विन्टलमध्ये बाटोमा जाँदै गरेको प्रदेश प्रमुख चौधरीले जानकारी दिए । श्रीकोट डिपोमा पनि नौ सय क्विन्टल कोटा भएकोमा सबै बाटोमै जाँदै गरेको छ । सदरमुकाममा भने हवाई मार्गबाट नुन ढुवानी गर्ने कार्ययोजना छ । श्रीकोट र सार्केगाड लिमिटेडका बिक्री केन्द्र हुन् । मुगु सदरमुकाममा रहेको डिपोमा २५ सय क्विन्टलको कोटा रहेकोमा हालसम्म ११ सय ढुवानी भइसकेको छ ।
बाँकी ढुवानी हुने क्रममा छ । सोरुकोटमा नौ सय क्विन्टलमध्ये पाँच सय क्विन्टल ढुवानी भएको छ । श्रीकोटमा नौ सय क्विन्टल ढुवानी भएको छ । मुगुमकार्मरोङ गाउँपालिकामा एक हजार क्विन्टल कोटा रहेकोमा हालसम्म ढुवानी भएको छैन । सदरमुकामबाट नै यहाँको माग र आपूर्ति व्यवस्था हुँदै आएको प्रमुख चौधरीको भनाइ छ । जुम्लामा सबै पालिकामा नुन पुर्याउनका लागि पालिकासँग सहकार्य भएर सोही अनुसारको ढुवानीका काम भइरहेको चौधरीले जानकारी दिए ।
उनका अनुसार सदरमुकाममा चार हजार क्विन्टलमध्ये २१ सय ५० क्विन्टल ढुवानी भएको छ । नराकोटमा एक हजारमा हालसम्म ४५० क्विन्टल पठाएको छ । गोरुचौरमा एक हजारमध्ये पाँच सय क्विन्टल नुन पुर्याएको छ । जाजरकोटका सात पालिकामध्य सदरमुकामसहित चार ठाउँमा नुन बिक्री हुँदै आएको छ । सदरमुकाममा २५ सयमा १२ सयमात्र ढुवानी भएको छ । नलगाडको दल्लीमा १५ सयमा ६ सय क्विन्टल ढुवानी भएको छ ।
पश्चिम जाजरकोटको थलहमा १२ सयमध्ये ४५० क्विन्टल ढुवानी भएको जानकारी गराएको छ । तागामा तीन सय क्विन्टल कोटामध्ये सबै कोटाको नुन पुगेको छ । रुकुम पश्चिमको ४५ सय क्विन्टलको कोटामध्ये हालसम्म ८५० क्विन्टल ढुवानी भएको पाइएको छ । चौरजहारीमा आठ सय क्विन्टलमध्ये ३४० मात्र ढुवानी भएको अवस्था छ । कालिकोटमा ३५ सय क्विन्टलमध्ये ७५० क्विन्टल ढुवानी भएको छ । रासकोट डिपोमा १२ सय क्विन्टलमा २४० क्विन्टलमात्र ढुवानी भएको छ ।
अन्य ढुवानीको प्रक्रियामा रहेको छ । ठेक्का प्रक्रियाबाट ढुवानी हुने भएकाले ढुवानीकर्ताले आफू अनुकूलमा काम गर्दै आएका छन् । उपल्लो डोल्पामा कोभिडदेखि आयोडिनयुक्त नुन ढुवानी हुन सकेको छैन । हिमाली जिल्लामा चिसो र हिमपातका कारण नुन ढुवानीमा समस्या हुने गरेको छ । उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुको माथिल्लो क्षेत्रमा ढुवानीमा समस्य हुँदै आएको छ । पालिकाहरूले समन्वय गरेर नुन लिएमा सबैलाई सहज हुने लिमिटेडको भनाइ छ ।
अहिले निर्धारण गरिएको नुनको कोटा कर्णालीको हालको जनसंख्यालाई अपुग भएको पालिकाका प्रमुखहरूले बताउँदै आएका छन् । दैलेखमा नुनको बिक्री केन्द्र नै नभएको बताएको छ । कर्णालीको सबै पालिकामा लिमिटेडसँग सहकार्य गरेर नुन लिन सकेमा सबैका लागि सहयोग पुग्ने कार्यालयको भनाइ छ । आयोडिनयुक्त नुनको माग उच्च रहेको पालिकाका प्रमुखहरूले बताएका छन् । लिमिटेडले सीमित कोटा निर्धारण गरिएकाले कर्णालीका स्थानीयबासीका लागि नुन अपुग हुने गरेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।