Logo

एक अर्बको हरित यातायात प्रणाली सञ्चालन गरिने

पोखरा– पर्यटकीय नगरी पोखरामा यातायात सेवालाई प्रभावकारी बनाउन हरित यातायात प्रणाली विकास परियोजना सञ्चालन गरिने भएको छ । पोखराको लामा चौरदेखि छोरे पाटन रुटमा एक अर्ब रुपैयाँको हरित यातायात प्रणालीको परीक्षण गरिने तयारी गरिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका हुन् ।

उक्त रुटको ६ स्थानमा प्रविधिसहितको बस स्टप निर्माण गरी ४२ वटा बसहरूमा जिपिएस ट्याकिङ प्रविधि जडान गरी पहिलो चरणमा परीक्षण स्वरुप सेवा प्रारम्भ गरिने उनले बताए । उक्त परियोजनाको परीक्षण स्वरूप पहिलो चरणमा आवश्यक सामग्रीहरू डिसेम्बर २० भित्र काठमाडौं आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याइने भएको महानगरले जनाएको छ ।

तोकिएका बस स्टपहरुमा इन्टरनेट र बिजुली बत्तिको व्यवस्थापन महानगरपालिकाले गर्ने भएको छ । पहिलो चरणमा १८ करोडबराबरको सामग्रीहरू कोरियाले उपलब्ध गराउने मेयर आचार्यले बताए । उक्त परियोजनामा कोरियाले करिब १ अर्बभन्दा बढी लगानी गर्ने महानगरले जनाएको छ ।

पहिलो चरणको परीक्षणसँगै आगामी दुई वर्ष भित्र महानगर भित्रको सम्पूर्ण सार्वजनिक यातायातलाई प्रविधि मैत्री बनाइने तयारी गरिएको आचार्यले दाबी गरे । परियोजनाअन्तर्गत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २ सय ८६ स्थानमा बस स्टप निर्माण गरिने भएको छ भने ३ स्थानमा बस टर्मिनल निर्माण गरिने भएको छ ।

पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने व्यवस्था गर्न लागिएको मेयर आचार्यले बताए । उनले भने,‘अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन्, यसले महानगरवासीलाई बसमा यात्रा गर्दाको छुट्टै अनुभूती हुनेछ ।’

परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरेको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम लिमिटेडसहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्ने भएका छन् ।

कोरियाको तर्फबाट तारकम लिमिटेडका विजनेस विभागका निर्देशक कि होन किमले मेयर आचार्यसँग बुधबार छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । किमले सबै सामग्रीहरू परीक्षण पश्चात् तयारी हालतमा रहेकाले एक महिना भित्र नेपाल आइपुग्ने बताए ।

उक्त सेवा सञ्चालन भएसँगै यात्रुले आफू यात्रा गर्ने बस र कुन ठाउँबाट कहाँ जान कति समय लाग्छ भन्नेलगायतका विषयमा डिजिटल सूचना बोर्डबाटै जानकारी लिन सक्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिका उपाध्यक्ष एवं पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्