होटलको स्तर निर्धारण
वीरगन्ज– वीरगन्जका होटलको स्तर निर्धारण तथा वर्गीकरण गर्ने कार्य सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले वीरगन्जका विभिन्न होटलहरूको सरसफाई, तथा खाद्यजन्य पदार्थहरूको अनुगमन गरी वर्गीकरण कार्य सुरु गरेको हो ।
अनुगमनका क्रममा भान्साको सरसफाई, खाद्यजन्य पदार्थहरूको भण्डारण गर्ने विधि र कोल्डचेन प्रविधिलगायतको अनुगमन गरी खाद्य स्वच्छता स्तरको आधारमा विभिन्न होटलहरूको स्तर निर्धारण गरी वर्गीकरण शुरु गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर मातहतको वीरगन्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वीरगन्जका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वको अनुगमन टोलीले वीरगन्जको विभिन्न दशवटा होटलहरूको अनुगमन गरेको थियो ।
अनुगमन गरिएका सबै होटलहरूको भान्सा, भण्डारण गरिएका खाद्यजन्य वस्तुहरूको चेकजाँच गर्नुको साथै टेष्टोमिटरद्वारा भान्सामा प्रयोग गरिएका खाने तेलको कोलारिटी समेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सुरेसकुमार सिंहले बताए । अनुगमन गरिएका दश होटलमध्ये वीरगन्जका चारतारे सरोबर प्रोट्रिक होटल, होटल दियालो र भिस्वा होटल गरी तीन वटा होटलहरूलाई खाद्य स्वच्छताको आधारमा क श्रेणीको हरियो स्टिकरसहित प्रमाणीकरण गरी लोगो वितरण एवं नवीकरण गरिएको छ ।
खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरू पस्कन अनुगमनमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले अनुरोध गरे । त्यस्तै होटल पुजन, होटल मकालु र अनमोल स्वीटलाई उत्तम वर्गीकरण गरेर दुई स्टारको लोगो वितरण गरिएको थियो । त्यसै गरी कन्ट्री इन्न होटल प्रालि, कैलाश होटल र मेजवानी होटललाई एक स्टारको लोगो दिइएको छ । डिलाइट गो रेस्टुरेन्टलाई सामान्य संकेत दिएर केही सुधारको निर्देशन दिएको छ ।
अनुगमन टोलीले होटलका सञ्चालकहरूलाई खाद्य स्वच्छता प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर हस्तान्तरण गरेको थियो । अनुगमन टोलीमा वाणिज्य कार्यालय वीरगन्जका सुनिल चौरसिया, वीरगन्ज उद्योग वाणिज्य संघका मनोजकुमार दास, वीरगन्ज महानगरका प्रतिनिधि विभा मिश्रलगायत जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।