Logo

चार महिनामा एक खर्ब १२ अर्ब बढ्यो कर्जा प्रवाह

काठमाडौं– चालु आर्थिक वर्षको चार महिना कात्तिकसम्ममा बैंकहरूबाट जाने कर्जा प्रवाह एक खर्ब १२ अर्ब रुपैयाँले बढेको छ। अन्य महिनाको तुलनामा कात्तिकमा भने एक अर्बले कर्जा प्रवाह घटेको बैंकरहरूले बताएका छन् ।

असोज मसान्तसम्म वाणिज्य बैंकहरूले ४६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा कात्तिकमा एक अर्बले घटेर ४६ खर्ब ८१ अर्ब पुगेको छ।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले ४५ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसपछि कर्जा प्रवाह क्रमशः बढ्दै आएको छ। कात्तिकमा भने एक अर्बले घटेको हो। गत साउनमा २ अर्बले कर्जा प्रवाह बढेकोमा भदौमा ५४ अर्बले बढेको थियो । असोजमा ५६ अर्बले कर्जा बढेको हो। कात्तिकसम्ममा आउँदा कर्जा प्रवाह ४६ खर्ब ८१ अर्ब पुगेको छ। यो चार महिनाभित्रमा एक खर्ब १२ अर्बले बढेको हो।

गत आवको कात्तिकमा कर्जा प्रवाह घटे पनि अहिलेको जस्तो अवस्था नरहेको जानकारहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीका अनुसार अहिले कर्जा घटेको भन्दा पनि कर्जा वृद्धि हुन नसकेको हो । करिब १५ दिन सार्वजनिक बिदाका कारण केही प्रभाव परेको उनी बताउँछन् । बिदाका कारण नयाँ ऋण लेनदेनको काम न्यूनमात्रै भएको उनले बताए ।

अर्थतन्त्रको सुस्तताका कारण निजी क्षेत्रले कर्जाको माग नै गर्न सकेको छैन । त्यसकारण पनि अहिले कर्जा जान नसकेको हो । कात्तिक अगाडि कर्जा असुलीको दबाबसमेत थियो । यसले गर्दा पनि कर्जाको वृद्धि हुन सकेन । पूर्व बैंकर भुवन दाहालले अहिले ब्याजदरसमेत न्यून बिन्दुमा झर्दा पनि निजी क्षेत्रको मनोबल बढ्न नसक्नु दुखद् भएको बताए । यसका लागि सरकारले बनाएको रामेश्वर खनाल नेतृत्वको अध्ययन समितिको प्रतिवेदन पर्खनुपर्ने र सोहीअनुरुप काम गर्नुपर्ने उनी बताउँछन् । ‘करिब डेढ वर्षसम्म कर्जा प्रवाह बढ्न नसक्नु र तरलता नघट्नु भनेको अहिलेसम्मकै लामो समयावधि हो । लामो समय कर्जा जान नसक्नु चिन्ताजनक परिस्थिति हो । सरकारले निजी क्षेत्रको मनोबल बढाउनतर्फ काम गर्नुपर्छ,’ उनले भने ।

अहिले कर्जा घट्नुको मुख्य कारण दशैंअगाडि आएको बाढीपहिरो पनि भएको कतिपयको बुझाइ छ । बाढीपहिरोका कारण चाडपर्वका सामान आउन नसकेकाले व्यवसायीहरूले ऋण कम लिएको जानकारहरू बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ (२.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ९ अर्ब ३ करोड रुपैयाँ (२.३ प्रतिशत)ले कर्जा बढेको थियो । गत आवको र अहिलेको असोजसम्ममा कर्जा प्रवाह निकै सुस्त वृद्धि भएको छ ।

निजी क्षेत्रले कर्जाको माग गर्न नसक्दा समस्या सिर्जना भएको जानकारहरू बताउँछन् । असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७० अर्ब रुपैयाँ (२.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ (२.८ प्रतिशत) ले बढेको थियो । अहिले बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ तरलता छ । यो रकम लगानी गरेर सरकारले रोजगारी सिर्जना र विकासका काम गर्ने अवसर भए पनि त्यसो हुन सकेको छैन ।

पूर्वबैंकर दाहाल सरकारले जतिसक्दो लगानी बढाएर यो रकमको सदुपयोग गरे बजार चलायमान हुने बताउँछन् । सरकारले ठूला परियोजनाहरूमा लगानी बढाएर धमाधम काम गरे लगानीकर्ताको खस्किएको मनोबलसमेत बढ्ने उनको भनाइ छ । निजी क्षेत्रले पनि सरकारले लगानीकर्ताको मनोबल बढाउन काम गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्