तीन सातामा पनि खुलेन कोरला अध्यागमन कार्यालय
पोखरा– उद्घाटन भएको तीन सातामा पनि कोरला अध्यागमन कार्यालय खुल्न सकेको छैन । गृहमन्त्री रमेश लेखकले गत कात्तिक १४ गते नाकाको अध्यागमन कार्यालय उद्घाटन गरेर पोखरा हुँदै काठमाडौं फर्किएसँगै कार्यालय बन्द भएको हो ।
गण्डकी प्रदेशको लाइफ लाइनको रूपमा लिइएको उक्त नाकाबाट चाइना जानको लागि अबदेखि सहज हुने भन्दै गृहमन्त्री लेखकले पोखराका पत्रकारसँग बताएको तीन साता वितिसक्दासम्म पनि अझै कार्यालय बन्द रहेको छ । तिहारअघि उद्घाटन गरिएको र त्यस लगत्तै छठ पर्व र पछिल्लो समय चिसो बढेकोले हाल उक्त कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण कोरला नाकाको अध्यागमन कार्यालय खुल्न नसकेको स्थानीयले बताएका छन् ।
कोरलामा जाडो बढेको, वातानुकूलित संरचना पनि नभएको र हाल त्यहाँ बस्न मिल्ने अवस्था समेत नभएकोले सवारी साधनको समेत जोहो गर्न बाँकी रहेको हुँदा उद्घाटन भएर पनि तत्काल उक्त सेवा सञ्चालन गर्न नसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद वभुषालले बताए । अबको केही दिनमा कर्मचारी व्यवस्थापन गरेर भए पनि उक्त कार्यालय सञ्चालन गर्ने उनले जानकारी दिए ।
अध्यागमन कार्यालय उद्घाटन भए पनि अहिलेसम्म एक जना पनि सेवाग्राही नआएको बताउँदै प्रजिअ भुषालले सेवाग्राही आएको खण्डमा आफूहरूले त्यसको प्रबन्ध गर्ने जिकिर गरे । सकभर करारमा भए पनि स्थानीय कर्मचारी व्यवस्थापन गर्ने विषयमा आफूहरु रहेको प्रजिअ भुषालले बताए । ८ जनाको दरवन्दी रहे पनि हाल ४ जना कर्मचारी व्यवस्थापन गर्ने विषयमा आफूहरूले गृहकार्य गरेको उनले जानकारी दिए ।
कोरलामा जाडो बढेको र वातानुकूलित संरचना पनि नभएकाले अहिले कार्यालय बन्द गर्नु परेको चीनलाई पनि त्यही जानकारी गराएको प्रजिअ भुसालको भनाइ छ । ‘चीनको चासोमा आफूहरुले कार्यालय बन्द भएको होइन, केही तयारी बाँकी नै छन् । अहिले चिसोले बस्न सक्ने वातानुकूलित संरचना छैन भन्ने जानकारी दिएका छौं,’ प्रजिअ भुसालले भने ।
भुसालका अनुसार कोरला नाकामा बस्न सक्ने वातावरण र संरचना नभए पनि नेचुङमा रहेको भन्सार र बीओपी भने खुला छन् । कोरला नाकामा अस्थायी रूपमा इमिग्रेसन कार्यालय स्थापना गर्न गण्डकी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरी ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको हो । २ वर्षअघि निर्माण सुरु भएको थियो । चीनको सीमामा भव्य भौतिक संरचना निर्माण भएर अध्यागमन कार्यालय रहेको छ भने नेपालमा सामान्य भवनसहितको कार्यालय रहेको छ ।