Logo

सवारी बन्द गरी मालढुंगा–बेनी सडक निर्माण गरिँदै

पर्वत– उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुंगा–बेनी खण्डमा सवारीसाधन रोकेर धमाधम काम गर्न थालिएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि ४ गते (मंगलबार)देखि ११ गतेसम्म दैनिक ६ घण्टा बन्द गरेर कालोपत्रे र स्तरोन्नतिको काम गर्न लागिएको हो ।

सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगादेखि लस्तिसम्म कालोपत्रे गर्न प्राइम कोट बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले यही मंसिर ४ देखि आठ दिनसम्म बिहान १० देखि दिउँसो चार बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय गरेको जानकारी दिए ।

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारी साधनको चापका कारण निर्माण कार्य गर्न प्रभावित भएकाले समयतालिका बनाइएको उनले बताए । ‘सडक फराकिलो बनाउन किनारामा रहेको ठुलो ढुंगा फुटाउन, सबबेस र बेस राखेको मालढुंगा–लस्ति खण्डको चार किलोमिटर दूरीमा प्राइम कोट बिछ्याउन र कालोपत्रे गर्ने तयारी भइरहेको चापागाईंले बताए । मालढुंगा–बेनी सडक अवरुद्ध हुँदा मालढुंगा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताए ।

अन्य सवारीका लागि सडक अवरुद्ध हुने भए पनि अत्यावश्यक ठानिएका एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्रे गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशतमात्र रहेको छ ।

१३ किलोमिटर दूरीको बेनी–मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्रे र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्णरूपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजनाले निर्देशनसमेत दिएको छ ।

सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्रे गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्