Logo

कालिकोटमा बन्यो ३६ करोडको अस्पताल भवन

जुम्ला– कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला कालिकोटमा वर्षौंपछि सुविधायुक्त अस्पताल भवन निर्माण भएको छ । टहराकै भरमा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल कालिकोटले वर्षौंपछि आफ्नै सुविधायुक्त भवन पाएको हो ।

करिब ३६ करोड लगानीमा निर्माण भएको ५० शैया सुविधायुक्त अस्पताल भवनको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन् । साविक कर्णालीका कालिकोट, मुगु र जुम्लाको भ्रमणमा निस्किएका मुख्यमन्त्री कँडेलले सोमबार कालिकोट जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन गरेका हुन् । नयाँ पक्की अस्पताल भवन बनेसँंगै जिल्ला अस्पताल कालिकोट टहरामुक्त मात्र बनेको छैन ।

भौगोलिक रूपमा विकट कालिकोटका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उचित वातावरण पनि बनेको छ । सुविधायुक्त अस्पताल भवन बनेपछि कालिकोटबासी उत्साहित छन् । अस्पतालमा चाहिने उपकरण र थप दक्ष जनशक्ति व्यवस्थापनमा संघीय सरकार र प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने कर्णालीबासीको माग छ । स्थापना कालदेखि नै साँघुरो र टिनको टहरामा सेवा प्रवाह गरिरहेको अस्पतालमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकै लगानीमा नयाँ भवन बनेको हो ।

वर्षौंदेखि भवन अभाव झेलेर गुणस्तरीय सेवा प्रवाहमा कठिन परिस्थितिको सामना गरिरहेको कालिकोट अस्पतालले अब खुसीको साहस फेर्दै ढुक्कले सेवा प्रवाह गर्ने जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. भीष्म पोख्ररेलले बताए । उनका अनुसार ‘भवन अभावमा अस्पताललले बिरामीलाई गुणस्तरीय सेवा दिन सकेको थिएन । तर नयाँ भवनबाट सेवा दिन थालेपछि बिरामी तथा चिकित्सकलाई पनि सहज भएको छ । करिब २६ करोड रुपैयाँको लागतमा ५० शैयाको भवन निर्माण भएको हो ।

नयाँ भवन बनेपछि विशेषज्ञ चिकित्सकको पूर्ति गरिनुका साथै एम्बुलेन्स, रक्त बैंक र अन्य उपकरण उपलब्ध गराइने मुख्यमन्त्री यायमलाल कँडेलले बताए । ‘आवश्यक उपकरण र विशेषज्ञ चिकित्सको व्यवस्था गर्छौं । उनले भने, ‘भवन राम्रो, पक्की भएरमात्रै नागरिकले सेवा पाउँछन् भन्ने होइन् । अब नागरिकको विश्वास जित्नेगरी काम गर्नुपर्ने बेला आएको छ । सामान्य खालका विरामी पनि उपचार नपाएर फर्किने स्थितिको अन्त्य हुनुपर्छ । प्रदेश सरकार सधै साथमा छ ।’

गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा नहुँदा नागरिकमा निराशा बढेकाले उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिए । उनले कालिकोट जिल्ला अस्पताल रेफर अस्पतालको रूपमा नभई भरपर्दो सेवा दिने अस्पतालको रूपमा विकास हुनुपर्ने उल्लेख गरे । २०४५ मा स्वास्थ्य केन्द्रको रूपमा स्थापना भएको कालिकोट अस्पतालले ०६१ मा १५ शैयाको स्वीकृति पाएको थियो भने २०७१ मा ५० शैयाको मान्यता पाएको छ । तर, अस्पताललाई दरबन्दी र बजेट ३० शैयाको लागि मात्र सेवा सुविधा आउने भएकाले अस्पताल सञ्चालनमा बजेट अभाव हुने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्