Logo

गत आवभन्दा यो वर्ष सवा लाख टन धान उत्पादन घट्ने अनुमान

काठमाडौं– गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्‍याएको क्षतिका कारण यो वर्ष धान उत्पादन करिब दुई प्रतिशतले घट्ने भएको छ । गत आवमा ५७ लाख टनभन्दा बढी धान उत्पादन भएको थियो ।

असोज १० र ११ मा आएको अविरल वर्षा र त्यसले ल्याएको बाढी, पहिरो र डुबानका कारण देशभरमा गरी करिब साढे ५८ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको थियो । यही कारण यो वर्ष गत वर्षको तुलनामा डेढदेखि २ प्रतिशतसम्मले धान उत्पादन घट्ने देखिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको यो प्रारम्भिक अनुमान हो । धान उत्पादन कति हुन्छ भन्ने पूर्ण विवरण भने पुसभित्रमा आउने छ । यो वर्ष समयमै पर्याप्त मनसुन भएको, रोपाइँ गरिएको र रासायनिक मलको आपूर्ति पनि सहज भएको भन्दै मन्त्रालयले यसअघि ३ देखि ५ प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरेको थियो । तर, दुई–तीनको बाढीपहिरो र डुबानले धान उत्पादन बढ्ने नभई गत वर्षभन्दा घट्ने अवस्था आएको हो ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी महान्नद जोशीले असोजको बाढीपहिरो र डुबानले ५८ हजार ४ सय ७६ हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिँदै यही कारण गत वर्षको भन्दा करिब साढे एकदेखि दुई प्रतिशतसम्म धान उत्पादन घट्ने अनुमान गरिएको बताए । उनका अनुसार बाढीपहिरोले कोशी र मधेश प्रदेशमा सबैभन्दा धेरै नोक्सानी पुर्याएको छ । यी प्रदेशसँगै देशभरको धान उत्पादनको यकिन तथ्यांक आउन केही समय लाग्ने उनले जानकारी दिए । यो वर्ष धान उत्पादन कति हुन्छ भन्ने विषयमा तथ्यांक लिने काम भइरहेको छ । धान उत्पादनको यकिन तथ्यांक पुस १५ सम्ममा सार्वजनिक गर्ने उनको भनाइ छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा देशभर १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यसबाट ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको थियो । यो वर्ष कुल क्षेत्रफलको ९८.५ प्रतिशतमा धान रोपाइँ भएको थियो । यो गत वर्षको तुलनामा ३ प्रतिशत बढी हो । तर, बाढीपहिरोले क्षति भएको हुँदा गत वर्षभन्दा उत्पादन घट्ने अनुमान गरिएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

यस्तै, आर्थिक वर्ष २०७९–८० वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको थियो । त्यसभन्दा गत वर्षको तुलनामा २ लाख ३७ हजार ७६२ टन बढी उत्पादन भएको हो । मन्त्रालयका अनुसार गत चार वर्षको औसत उत्पादनको तुलनामा गत वर्ष ५.०८ प्रतिशतले बढी उत्पादन भएको थियो । यस्तै, धानबालीको औसत उत्पादकत्व अघिल्लो वर्षको तुलनामा गत आवमा ४.९७ प्रतिशतले बढेर ३.९८ टन प्रतिहेक्टर पुगेको छ ।

गत वर्ष धान उत्पादन बढे पनि अघिल्लो वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको थियो । आव २०७९–८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएकामा गत आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान लगाइएको थियो । धानबाली हुने कुल क्षेत्रफलको प्रतिशतका आधारमा यस वर्ष धान रोपाइँ बढेको थियो । गत वर्ष कुल क्षेत्रफलको ९४.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा यो वर्ष ३.९ प्रतिशतले बढेर ९८.५ प्रतिशत पुगेको छ । धान रोपाइँको क्षेत्रफल बढेको भए पनि बाढीपहिरो र डुबानले क्षति पुर्‍याएका कारण उत्पादन घट्ने देखिएको जोशीको भनाइ छ ।

उनका अनुसार बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा ५ अर्ब ८३ करोड रुपैयाँबराबर क्षति भएको छ । कृषि बालीमध्ये सबैभन्दा बढी क्षति धानमा पुगेको हो । मुलुकका २० जिल्लामा लगाएको धानमा ३ अर्ब ५० करोड रुपैयाँबराबरको क्षति पुगेको मन्त्रालयको भनाइ छ ।

देशका अधिकांश स्थानमा परेको अविरल वर्षाले बाढीपहिरो र डुबानका कारण कृषि बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन र कृषि सम्बन्धी पूर्वाधार क्षेत्रमा क्षति पुर्‍याएको छ । धानबालीमा क्षति हुने जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रे छन् ।

यस्तै, बाढीले खोटाङको १ हजार ३ सय हेक्टर क्षेत्रको अलैंची नष्ट भई ७० करोड रुपैयाँबराबरको क्षति गरेको छ । यसैगगरी पर्साको ८५ हेक्टर क्षेत्रमा लगाएको ३४ करोडबराबरको उखु खेतीमा बाढीले क्षति पुर्‍याएको छ । यस्तै, ४ सय ५८ हेक्टरको माछापोखरीमा बाढी र डुबानले १ अर्ब १३ करोडबराबरको क्षति भएको छ । क्षति हुने जिल्लामा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा छन् ।

यसैगरी बाढीपहिरोले पाँचथर, धनकुटा र तेह्रथुमका २४ पशुगोठमा क्षति भएको छ । बाढीपहिरोले पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर र मधेश प्रदेशका सबै जिल्लामा गरी २६ हजार २ सय ५ पशुपन्छीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा २२ हेक्टर फलफूल बगैंचामा क्षति भएको छ ।

खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा ४ हजार ७ सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ वटा कोल्ड स्टोरमा क्षति पुगेको छ । मन्त्रालय र मातहतका कार्यालयको भौतिक तथा अन्य संरचनामा १६ करोडबराबरको क्षति भएको छ । लालबन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिक्कल, कीर्तिपुर, मार्फा र नवलपुरमा यो क्षति भएको हो ।

प्रतिक्रिया दिनुहोस्