एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी
काठमाडौं– आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान)ले साझेदारीको घोषणा गरेका छन् । प्रायोजनसम्बन्धी यस साझेदारीअन्तर्गत नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिएको एनसेलले बताएको छ ।
व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी–२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको हो । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
यो सहकार्य कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको बताउँदै एनसेलले नेपाल र आम उपभोक्तालाई सधैं जोडिराख्ने आफूहरुको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खाने बताएको छ । क्रिकेट दक्षिण एशियाकै सबैभन्दा बढी लोकप्रिय खेलकुदमध्ये एक हो । एनपीएलको विशेषता भनेको अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागीता हो र अन्तर्राष्ट्रिय खेलकुद टिभी च्यानलमार्फत पनि यसको प्रत्यक्ष प्रसारण हुनेछ ।
यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो भन्दै कम्पनीले यो सहकार्य संसारभर छरिएर रहेका नेपाली दर्शकहरूको खेलप्रतिको माया र समर्थनको भावना स्वीकार अवसर पनि हो, जसले हालैका विश्वव्यापी प्रतियोगिताहरूमा थुप्रै प्रशंसाहरु बटुलेका छन् भनेको छ ।
एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङ्मार्फत एनपीएलका खेलहरु आफू जहाँ भए पनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरु आयोजना गर्दै यो प्रतियोगिताभर ग्राहकहरुका लागि विभिन्न योजनाहरु पनि ल्याउने जनाएको छ ।
मंसिर १५ गते देखि पुस ६ सम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडी कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् । सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमहरूले राउन्ड–रोबिन फर्माटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख शहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिम छन् ।
एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, आफूहरुले आफ्नो स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको बताउँदै क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको बताएको छ ।
यस अघि एनसेलले त्रिकोणत्मक टी–२० आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगिताहरूलाई पनि सहयोग प्रदान गरेको थियो । साथै, अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सहकार्य गरी ए डिभिजन, यू–१६ फुटबल, महिला राष्ट्रिय च्याम्पियनसिप, र महिला राष्ट्रिय टोलीका कार्यक्रमहरूमा सहयोग गरेको थियो ।
२०१४ मा क्यानको प्राविधिक सहयोगमा, एनसेलले पहिलो पटक घरेलु क्रिकेट प्रतियोगिता—एनसेल नेपाल प्रिमियर लिगको आयोजना पनि गरेको थियो । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत, एनसेलले गत वर्षदेखि राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी)सँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरुलाई सहयोग र समर्थन गर्दै आएको पनि जानकारी दिएको छ ।
गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पालेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई रु १० लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको थियो । अन्य प्यारालिम्पिक टोलीका सदस्यलाई पनि फाउन्डेसनले नगद पुरस्कार दिएको थियो ।
एनपीसीसँग साझेदारीमार्फत आफूहरुले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको बताउँदै एनसेलले सामाजिक पहल अन्तर्गत नै खेलकुदको विकासलाई समर्थन गर्दै लैनचौर मैदानलाई बहुउद्देश्यीय खेल मैदानको रूपमा पुन:र्निर्माण गरेको, वार्षिक रुपमा एनसेल कर्पोरेट गल्फ प्रतियोगिता पनि आयोजना गदै आएको, त्यसै मध्येको एक प्रतियोगिता दुई हप्ता अघि सम्पन्न भएको बताएको छ ।