Logo

झापाको सीमावर्ती बस्तीमा जंगली हात्तीको आतंक

झापा– वर्षौंदेखि रातीमात्र जंगली हात्तीको पीडा खेपिरहेका झापाका स्थानीय दिउँसो पनि जंगली हात्तीको पीडा खेप्न बाध्य भएका छन् । दिउँसै आहाराको खोजीमा गाउँ पसेर हात्तीले दु:ख दिन थालेपछि उनीहरु त्रसित भएका हुन् । जंगली हात्तीमा आएको यस्तो अस्वाभाविक परिवर्तनबाट जंगली हात्ती र मानिस दुवैको ज्यान जोखिममा परेको छ ।

आहारका लागि गाउँ पसेका जंगली हात्तीले पाकेका धान खाएर, कुल्चेर नष्ट गरिदिने गरेको भद्रपुर नगरपालिका–९ का दीपेन्द्र कटुवालले बताए । मिलचोक क्षेत्रमा दुई वटा जंगली हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति गराएको उनले बताए । जंगली हात्ती प्राय: रातिमात्र आहाराका लागि गाउँ पस्ने गरेपनि अहिले हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेर दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देवेन्द्र खरेलले बताए ।

जनावरले पनि मानिसले जस्तै अस्तित्व रक्षाका लागि आफ्ना आनीबानी बदल्ने बताउँदै उनले जंगलमा हात्तीका लागि खाना नभएकाले दिउँसो गाउँ पस्न थालेको अनुमान गरे । जंगलमा पेटभरि खान पाउने हो भने जंगली हात्ती गाउँ नपस्ने बताउँदै उनले जंगलभित्र हात्तीका आहराका लागि बालीनाली लगाउनुपर्ने जनाए ।

झापामा एक दर्जन बढी हात्तीले स्थानीय जंगलमा आश्रय लिँदै आएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । उनले जलथल, मध्यभागस्थित निचाझोडा र उत्तरतिरको चुरेभावर जंगलमा हात्ती बस्ने गरेको बताए । उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जंगली हात्ती र रैथाने हात्तीबाट झापाका १५ वटै स्थानीय तह प्रभावित भएको उनको भनाइ छ । हात्तीले स्थानीयको अन्नबालीमा क्षति गरेपछि किसान चिन्तित भएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

विद्युतीय घेराबारा तोडेरसमेत हुलका हुल हात्ती आएपछि किसानको बालीनाली खाने गरेकाले नियन्त्रणमा समस्या भइरहेको उनको भनाइ छ । थोरै संख्यामा आएका हात्ती दिउँसै गाउँपस्ने र त्यसले क्षति पुर्‍याउने गरेको उनले बताए । २०३० सालदेखि निरन्तर भारतबाट आउने हात्तीको समस्या झेल्दै आएका झापाका स्थानीय र हात्तीबीच निरन्तर द्वन्द्व चलिरहेको छ । उनले हात्ती नियन्त्रणका लागि सरकारले विद्युतीय घेराबारा र विभिन्न उपाय अपनाएपनि प्रभावकारी हुन नसकेको जनाए ।

झापा, मोरङ र सुनसरीमा जंगली हात्तीका कारण जनधनको ठूलो क्षति भइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । भारतको आसामबाट नेपालको कोशी टप्पुसम्म जंगली हात्तीको परम्परागत विचरण क्षेत्र मानिन्छ । भारतमा बाक्लो जंगल र आरक्षण क्षेत्र ज्यादा भएकाले धेरैजसो समय भारततिरै बस्ने हात्तीको बथान बेलाबेला नेपाल आउने गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

पछिल्लो समय झापामा जंगली हात्तीले मानिसमाथि आक्रमण गर्ने क्रम रोकिएको छैन । झापाको दमकमा केही समयअघि जंगली हात्तीको आक्रमणबाट ४५ वर्षीय मिनबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलमा जंगलबाट आएको एउटा हात्तीले सोही ठाउँ बस्ने सुबिन भट्टराईको भान्सा घर भत्काउन थालेपछि धपाउने क्रममा ४५ वर्षीय मिनबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्