घोराहीको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
काठमाडौं– घोराही सिमेन्टले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा पहिलो पटक उद्योगले यो सिमेन्ट बजारमा ल्याउनुको साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
लामो अनुसन्धान र उच्च प्रविधिबाट उत्पादन गरिएको ढलाई मिक्स पीपीसी सिमेन्ट विशेषगरी व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको कम्पनीको भनाइ छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ ।
सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउने बताइएको छ । गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको हो । सो सिमेन्टमार्फत कम्पनीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ मूल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउने जनाएको छ ।
घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपिसी ५३ ग्रेड र ४३ ग्रेड, पिपिसी र सगरमाथा क्लिन्कर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।