Logo

पृथ्वी राजमार्गको कोइरालेमा पहिरोको जोखिम

धादिङ– संघीय राजधानी काडमाडाैंसँग मुलकका ७० जिल्ला जोड्ने नागंगढुगा नाकाको मुख्य राजमार्ग त्रिभुवन राजपथ भए पनि महत्त्वपूर्ण राजमार्ग नौबिसेबाट पृथ्वी राजर्माग सुरु हुन्छ । पृथ्वी राजमार्ग धादिङ हुँदै चितवनको मुग्लिनबाट पोखरा लाग्छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग र पृथ्वीराजमार्ग मुग्लिन जोड्न मदनआश्रित राजमार्ग रहेको छ ।

मदनआश्रित राजमार्ग सडक विस्तारको काम पूरा गरी पुल निर्माणको काम भइरहेको छ । यस पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्ग नागढुंगादेखि मुग्लिनसम्म सडक चौडा र पुल बनाउने काम एक साथ चलिरहेको छ । मदनआश्रित राजमार्ग सुधार गर्दाको सिकाइबाट सडक चौडा गर्ने क्रममा जोखिम न्यूनीकरण अफ्ठ्यारा स्थानमा सम्भव भएसम्म पक्कीवाल लगाएर उठाउने गरेको छ । कयौं स्थानमा मोड कटान गरिएको छ ।

कहीं सामान्य कटिङ गरिएको छ । कहीं ढुंगा निकाल्ने लोभमा आवश्यकभन्दा बढी कटिङ गरिएको छ । त्यसको उदाहरण हो सिम्ले कोइराले खण्डको पहिरो । सिम्लेदेखि कोइरालेमा बस्ती नभएको भन्दै सडक चौडा गरिएको छैन । जहाँ स्कुल जाने विद्यार्थी हिँड्न पैदल मार्गसमेत छन् । त्यही एक स्थानमा ढुंगा राम्रो निकाल्न सकिने भएकाले स्काभेटर प्रयोग गरेर खानी सञ्चालन गरिएको छ ।

त्यहीबाट थाक्रे गाँउपालिका–२ रिजालगाँउ जान ६/७ वर्ष पहिले ग्रामीण सडक खनिएको थियो । सडकबाट करिब तीन सय मिटर माथिबाट धेरै ठूलो धाजा परेको र ढुङा झर्न लागेको अवस्था छ । जुनसुकै बेला पनि त्यो झर्न सक्छ सुक्खा पहिरोको रुपमा वा सानोतिनो कम्पनले पनि झर्न सक्ने देखिन्छ । यदि यो झर्‍यो भने सडकमा धेरै जोखिम छ भने पहिरोको माथि ग्रामीण सडक र दुई घर परिवार पनि जोखिम रहेको जनजागृति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र रुपाखेतीले बताए ।

स्थानीय पुरुषेत्तम रिजाल भन्छन्, ‘सडक चौडा नगर्ने ठाउँमा पनि स्काभेटर प्रयोग गरेर ढुंगा निकालियो । त्यसको असर अहिले पहिरोमा रूपान्तरण भयो । सडक डेढ मिटर पनि चौडा गरेको छैन । हाम्रो गाउँ जानेबाट मासिने भयो । अर्कोतर्फ गाउँ भासियो । पहिरोको माथि बाक्लो बस्ती छ । अहिले पहिरोले नवराज र रामप्रसाद रिजालको घर जोखिममा छ । ती घरमात्र जोखिममा छैनन् । त्यो अहिले फुटेको पहाड एकै साथ खस्यो भने सडकमा गुडिरहेका कयौ सवारी साधनमा कति क्षति हुन्छ भन्न सकिन्न । उस्तै पर्दा महेश खोला थुनिएर पारिको टारमा नोक्सान हुनसक्छ । हामीले सडक कार्यालयलाई भन्दा नियमअनुसार गर्छाै भन्नु भएको छ । हामीले बुझ्न सकेका छैनौ के नियम छ ।’

नागंढुगा–मुग्लिन सडक सुधार तथा विस्तार आयोजनाका परार्मशदता अस्ट्रेलियाको एसएमईसी इन्टरनेशनल प्रालि, पीईसी लिमिटेड र रिपब्लिकन अफ् कोरिया इन एसोसिएसन, आईटीईसीओ र टीएमएसका परामर्शदाता राजेन्द्र पौडेलका अनुसार, ‘अहिले अपनाइएको प्रविधिले पहिरो रोकथाम नहुने देखिएकाले माथिल्लो तहमा खवर पुर्‍याएका छौं । भू–गर्भविद् सहितका विशेषज्ञ टोलीले अध्ययन अनुसन्धान गरिहेका छन् । सिफारिस गरिएका विधि प्रयोग गरेर रोक्थाम गर्नुपर्छ गत बर्खामा देखिएको समस्या हो । हामी सचेत छौ । उपयुक्त प्रविधि प्रयोग गरेर रोकथाम गर्छौं । अहिले नागढुंगा–मुग्लिन सडक खण्डमा प्रयोग गरिएको प्रविधिले नहुने देखिएकाले काम गरेका छैनौ । फिल्डै गएर हेर्दा अहिले खसिहाल्न जस्तो त देखिँदैन । तर प्रकृतिका कुरा हो भन्न सकिन्न । कुन बेला भूकम्प जान्छ । कुन बेला पानी पर्छ थाहा हुन्न । त्यस कारण विज्ञको सफिारिस कुरेका छौं ।’

शर्मा–लामा कन्स्ट्रक्सन र जेआईसीजीले संयुक्त रूपमा नागंढुगा–मुग्लिन सडक सुधार तथा विस्तार आयोजना प्याकेज नं. २ नौबिसे–मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर २०७८ साल चैत्र २४ गतेसम्म सडक सुधार तथा विस्तार काम सक्ने गर्ने गरी पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ । तर हालसम्म २५ प्रतिशतमात्र काम पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्