Logo

लघुवित्तको निष्क्रिय कर्जा उच्च

काठमाडौं– चालु आर्थिक वर्षमा अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढेको छ । केही संस्थाहरुको भने यस्तो कर्जा घटेको छ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश लघुवित्तको निष्क्रिय कर्जा बढेर वित्तीय संकट थपिँदै गएको तथ्यांकले देखाउँछ ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष प्रकाशराज शर्मा लघुवित्तसम्बन्धी राज्यले विगतमा लिएका नीति, लघुवित्तकर्मीहरूले गरेका गल्ती तथा मुलुकको वर्तमान अवस्थाका कारण अहिले लघुवित्तमा समस्या सिर्जना भएको बताउँछन् । यो समस्या अहिले सिर्जना नभएको भन्दै उनले अहिले देखिएको बताए । उनले भने, ‘पहिले त समस्यालाई दबाएर राखिएको थियो । समस्या पहिले पनि थियो, केन्द्रीय बैंकको नियामकीय प्रोभिजनले दबाएर राखिएको थियो । अहिले त्यही चिज उदांगो भएको हो ।’

चालु आवको पहिलो त्रैमासमा गत असारको तुलनामा निष्क्रिय कर्जा बढेको र यो अझै बढ्दै जाने उनले बताए । मुलुकको आर्थिक अवस्था, राष्ट्र बैंकको नीति, हामी सबैले पहिले गरेको गल्ती लगायतका कारण यो अझै बढ्ने देखिएको उनको भनाइ छ । आर्थिक अनुशासन, लघुवित्त आन्दोलन आदिका कारण अहिले लघुवित्त वित्तीय संस्थाहरू संकटमा पर्दै गएको अध्यक्ष शर्माले बताए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले अहिले नै लघुवित्तको निष्क्रिय कर्जालाई लिएर आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । यद्यपि, निष्क्रिय कर्जा बढ्दै गएकोमा चिन्तित हुने अवस्था रहेको उनको भनाइ छ । अहिले कर्जा असुली नै हुन नसकेको उनले बताए । ‘पहिलो त्रैमासमा काम गर्ने दिन पनि थोरै छ । रिकभरी हुन नसकेर एनपीएल बढेको छ । रिकभरी नै हुन सकेको छैन,’ उनले भने ।

गाउँगाउँमा व्यवसाय चलायमान हुन नसकेको, ऋणीले राम्रोसँग रोजगारी पनि नपाएको र व्यवसाय पनि राम्रोसँग सञ्चालन हुन नसकेको उनको भनाइ छ । आम्दानीको स्रोत नै नभएर अहिले समस्या सिर्जना भएको यादवले बताए । कतिपयले ऋण मिनाहा गर्ने हल्लाका कारण पनि ऋण नतिरेको उनी बताउँछन् । ‘कोभिडको बेलादेखि समस्यामा परेका ऋणीहरू पैसा तिरे पनि पूरै तिर्न नसक्दा ब्याजमात्रै तिरिरहेको अवस्था छ,’ उनले भने, ‘त्यसकारण साँवामा नघटेर ब्याजमा मात्रै गइरहेको छ । यसले एनपीएल बढाइरहेको छ । निष्क्रिय कर्जालाई लिएर अहिले नै आत्तिनुपर्ने अवस्था चाहिँ छैन । वित्तीय संकटमा गयो नै भन्न मिल्दैन । वाणिज्य बैंकहरूको पनि एनपीएल बढिरहेको अवस्था छ ।’ दोस्रो त्रैमासमा निष्क्रिय कर्जा धेरै नबढ्ने अपेक्षा गरिएको उनले बताए ।

समस्यामै परेका वास्तविक ग्राहक र कतिपयले चाहेर पनि रकम नभएर तिर्न नसकेको अवस्था र चाहना नै नभएर ऋण नतिर्नेहरूको सूची लघुवित्तहरूले बनाइरहेको उनले जानकारी दिए । सूची निस्किएपछि नयाँ रणनीतिका साथ अगाडि बढ्ने र ऋण नतिर्नेलाई कानुनी कारबाहीमा लैजाने अवस्था आउने उनी बताउँछन् । त्यसपछि एनपीएलमा सुधार हुने उनको अपेक्षा छ ।

चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आरएसडीसी लघुवित्त वित्तीय संस्थामा २.५७ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा यो लघुवित्तको निष्क्रिय कर्जा १.४९ प्रतिशत थियो । गत आवको पहिलो त्रैमासमा ३.९२ प्रतिशत रहेको हिमालयन लघुवित्तको निष्क्रिय कर्जा चालु आवको पहिलो त्रैमासमा ३.७२ प्रतिशतमा झरेको छ ।

गत आवको पहिलो त्रैमासमा ११.५ प्रतिशत रहेको ग्रामीण लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा घटेर ४.७८ प्रतिशतमा झरेको छ । गत आवको पहिलो त्रैमासमा १.६७ प्रतिशत निष्क्रिय कर्जा रहेको सपोर्ट लघुवित्तको यस वर्ष पहिलो त्रैमासमा १.६४ प्रतिशत निष्क्रिय कर्जा छ ।

यस्तै चालु आवको पहिलो त्रैमासमा डिप्रोक्स लघुवित्तमा ९.०१ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा यो लघुवित्तको निष्क्रिय कर्जा ५.१४ प्रतिशत थियो । यस्तै गत आवमा १.९१ प्रतिशत निष्क्रिय कर्जा रहेको फ्रस्ट माइक्रोफाइनान्सको निष्क्रिय कर्जा चालु आवको पहिलो त्रैमासमा ४.४४ प्रतिशत रहेको छ । आत्मनिर्भर लघुवित्तको गत आवको पहिलो त्रैमासमा १४.४३ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा चालु आवको पहिलो त्रैमासमा ८.५३ प्रतिशत छ ।

यस्तै उपकार, नाडेप र आरम्भ चौतारी लघुवित्तको निष्क्रिय कर्जा यस वर्ष पहिलो त्रैमासमा क्रमशः १.२५, १०.६१ र २.१४ प्रतिशत छ । गत आवको सोही अवधिमा क्रमशः ४.८३, ६.५६ र ५.४९ प्रतिशत थियो ।

चालु आवको पहिलो त्रैमासमा ग्लोबल आईएमई लघुवित्तको निष्क्रिय कर्जा सामान्य नियन्त्रणमा आएको छ । चालु आवको पहिलो त्रैमासमा यो लघुवित्तको निष्क्रिय कर्जा ४.३५ प्रतिशत छ । गत आवको सोही त्रैमासमा भने ४.७६ प्रतिशत थियो ।

यस्तै मानुषी लघुवित्त, युनिक नेपाल र एनएमबी लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा चालु आवको पहिलो त्रैमासमा क्रमशः ५.१३, १५.७९ र ६.३७ प्रतिशत छ, जुन गत आवको सोही अवधिमा क्रमशः ७.३४, १०.८२ र ७.२७ प्रतिशत थियो ।

चालु आवको पहिलो त्रैमासमा लक्ष्मी लघुवित्तको निष्क्रिय कर्जा ७.९४ प्रतिशत रहँदा आत्मनिर्भरको १४.४३ प्रतिशत, नेरुडे मिर्मिरेको १६.१४ प्रतिशत र मेरो माइक्रोफाइनान्स लघुवित्तको ९.३९ प्रतिशत छ । यी लघुवित्तको गत आवको पहिलो त्रैमासमा क्रमशः ६.८९, ८.५३, ५.५१ र ११ .५० प्रतिशत थियो।

यस्तै सूर्योदय वोमीको ६.३० प्रतिशत, सामुदायिक लघुवित्तको ६.४१ प्रतिशत, साना किसानको २.४६ र नेसनल लघुवित्त वित्तीय संस्थाको ४.२६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा भने यी संस्थाहरूमा यस्तो कर्जा क्रमशः ५.९२, ११.१६, ०.८१ र ४.१७ प्रतिशत थियो।

चालु आवको पहिलो त्रैमासमा इन्फिनिटीको ११.३५ प्रतिशत निष्क्रिय कर्जा हुँदा स्वरोजगार लघुवित्तको ५.४३ प्रतिशत र विजय लघुवित्तको ९.५७ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूको यस्तो कर्जा क्रमशः ४.८५, ५.१७ र ७.९० प्रतिशत थियो । यसबाहेक अन्य लघुवित्त वित्तीय संस्थाहरूको पनि निष्क्रिय कर्जा बढेको वित्तीय विवरणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्