लगानी प्रवद्र्धनका लागि उद्योग मन्त्रालय र परिसंघको सहकार्य «

लगानी प्रवद्र्धनका लागि उद्योग मन्त्रालय र परिसंघको सहकार्य

नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरूबीच विश्वासको वातावरण बनाउँदै औद्योगिकीकरण तथा लगानी प्रवद्र्धनमा सघन रूपमा सहकार्य गर्ने भएका छन् । परिसंघमा भएको छलफलमा उद्योग सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीहरूका तर्फबाट परिसंघले प्रस्तुत् गरेका औद्योगिकीकरण, निर्यात वृद्धि तथा आयात प्रतिस्थापनका विषयमा सघन सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेकी छिन् । सचिव खतिवडाले एकलबिन्दु सेवा केन्द्रको प्रभावकारिता, वातावरणीय मापदण्डसम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजमा विस्तार र नेपाली आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरूको विकास तथा विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्नेलगायतका विषयमा मन्त्रालयले थप सहकार्य गर्दै अघि बढ्ने बताइन् ।
छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकार र उद्योगी व्यवसायीबीच विश्वासको वातावरण बनाउन आपसी छलफललाई निरन्तरता दिँदै जाने बताए । अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई थप लगानीका लागि उत्प्रेरित गर्न आवश्यक वातावरण बनाउन आग्रह गरे । अध्यक्ष मोरले उद्योग विभागमा रहेको एकलबिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन तथा निर्यातमा विविधीकरण र उद्योगसम्बन्धी कानुनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग स्थापना तथा सञ्चालनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले विशेष आर्थिक क्षेत्र सञ्चालन तथा अन्य औद्योगिक क्षेत्रमा उद्योग स्थापना तथा सञ्चालनमा देखिएका अवरोध हटाउन पहल भइरहेको जानकारी गराए ।
यस्तै, उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले उद्योगी व्यवसायी तथा लगानीकर्ताका लागि विभागले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको दाबी गरे । उद्योग विभागमा रहेको उद्यमी सहजकर्ता सेन्टरको उपयोग गर्न पनि महानिर्देशक सिटौलाले आग्रह गरे ।
सो अवसरमा परिसंघका उपाध्यक्षहरू अनुज अग्रवाल, विष्णु अग्रवाल, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवाल र राजेश अग्रवालले उद्योग तथा लगानी विस्तारका विषयमा प्रस्तुति गर्दैैैै औद्योगिकीकरणको वातावरण बनाउन तत्कालीन तथा दीर्घकालीन रणनीतिहरू अघि बढाउन आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्