Logo

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौती

विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य: ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी) बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुक अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयांँ नविनतम सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य रहेको बताए ।

ढकालले अहिले सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको बताए । उनले नयाँ सोचका साथ व्यवसाय बिस्तार गर्नसक्दा मात्रै अर्थतन्त्रको विकासमा नयाँ अवसरहरु सिर्जना हुने र नवप्रवर्तनले लागत घटाउने तथा उद्यमीहरुको लागि आत्मनिर्भर बन्ने माध्यम हुने विश्वास रहेको बताए । उनले महासंघले इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवर्द्धनमा सघाउ पुर्‍याउन ”स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरेको बताए ।

उनले लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको बिस्तारका लागि काम गरिरहेको बताए । उनले निर्यात प्रवर्द्धन समितिले बाहिरको बजार खोज्ने प्रयास गरेको बताए । अध्यक्ष ढकालले देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनुपर्ने, करका प्रकृयाहरुमा पारदर्शी बनाई कम दरमा कर उपलब्ध गराउन सक्नुपर्ने बताए ।

उनले आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै अनधिकृत आयात रोक्न जरुरी रहेको उल्लेख गरे । सरकारले नीतिगत स्पष्टता, स्थिरता र शिघ्र एवं प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरे । उनले शुसासनमा सुधार गरी युवाहरुलाई काम गर्न उत्साहित र प्रोत्साहित गरिनुपर्नेमा जोड दिए ।

यस्तै, राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताए । सोही कार्यक्रममा बोल्दै सचिव मरासिनीले अतिकम विकसित मुलुक (एलडीसी) बाट नेपाल विकासशील मुलुकको सूचिमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भएपनि नेपालले खासै विकास गर्न नसकेको बताए । उनले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरु आर्थिक रुपमा माथि पुगेको बताए ।

नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताए । सचिव मरासिनीले स्तरोन्ति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउनुपर्ने चुनौति रहेको बताए । उनले मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताए । उनले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्